अपराधीलाई कैद मिनाहा गर्ने सरकारको चौतर्फी आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अपराधीलाई कैद मिनाहा गर्ने सरकारको चौतर्फी आलोचना

काठमाडौं, १८ असोज । २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल) लाई कैद मिनाहा दिएपछि सरकार र राष्ट्रपतिविरुद्ध चौतर्फी विरोध भएको छ । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै पीडित परिवारले आपत्ति जनाउँदै अनशन थालेका छन् भने प्रतिपक्ष र सत्ता पक्षीय सांसदले समेत निर्णयको आलोचना गरेका हुन् ।

चेतनकी श्रीमती भारती मानन्धरले आफ्नो श्रीमान्को हत्या गर्ने रिगललाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन शुरू गर्नुभएको छ । माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन शुरू गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताउनुभयो । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको भारतीले बताउनुभयो । अनशनस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ ।’ रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी आइतबार सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।

‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ’ भारती मानन्धर

रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर ३ वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।

अपराधको प्रकृति र कैदीको आचरण सुधारको अवस्था हेरेर सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा र आम माफी दिन सक्ने संविधानमै व्यवस्था छ । सोहीअनुसार सरकारको निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले रिगलसहित ६ सय ७० कैदीको कैद मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

०७५ भदौअघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्थाअनुसार सरकारले कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको गृह मन्त्रालय स्रोतको दाबी छ । खुँडा प्रहार गरी गम्भीर अपराध गर्ने रिगललाई कैद मिनाहा दिइएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमै प्रश्न उठाउनुभएको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले राष्ट्रपति पौडेललाई भेटेर कैद मिनाहाबारे तीनबुँदे ध्यानाकर्षण–पत्र बुझाएको थियो । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत रिगललाई सरकारले कैद माफी मिनाहा सिफारिस गरेकोमा आपत्ति जनाएका थिए । महामन्त्री थापा र शर्माले गत असोज ४–८ गतेसम्म भएको केन्द्रीय समिति बैठकबाट विरोध गरेका थिए । रिगललाई कैद मिनाहा दिने सरकार र राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर अनशन बसेकी भारती बुधबार तारेख बुझेर फर्कंदै गर्दा सर्वोच्च अदालतको गेटमै बेहोस भएर ढलेपछि वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);