काठमाडौं, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । चीनको भ्रमणमा रहेका दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु प्रस्थान गर्ने भएका हुन् ।
स्थानीय समयअनुसार ९ बजेर ४५ मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल जाने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । छेन्दुमा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । दाहालको आज साझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दाहालको सम्मानमा सचिव सियाओले रात्रिभोजको समेत आयोजना गर्दैछन् ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।