बढ्न थाल्यो हलेसीमा पर्यटकको आगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बढ्न थाल्यो हलेसीमा पर्यटकको आगमन

खोटाङ, १ माघ । सडक यातायातको विस्तारसँगै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको प्रसिद्ध धार्मिक स्थल हलेसीमा पर्यटकको आगमन बढ्न थालेको छ । खोटाङको सदरमुकाम दिक्तेलदेखि करिब २५ किलोमिटर पश्चिममा अवस्थित हलेसीसम्म जोड्ने सडक निर्माण भएपछि दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटस्थित दुधकोसी नदीमा पुल बनेपछि काठमाडौं तथा तराई क्षेत्र भएर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई हलेसी महादेवको दर्शन गर्न सहज भएको हो । हलेसी महादेवको गुफा प्राकृतिक भू–बनोटका हिसाबले विश्वमै अनौठो मानिन्छ । विदेशबाट समेत वार्षिक हजारौं पर्यटक हलेसी महादेवको दर्शन गर्न तथा खोज अनुसन्धान गर्न आउने स्थानीय बताउँछन् । दिक्तेल–हलेसी र जयरामघाट–हलेसी सडक स्तरोन्नति भएपछि हलेसी आउने पर्यटकको संख्या बढेको स्थानीय बताउँछन् ।

गुराँसे, तुवाचुङ, जायजुम, मलाथुम्की र रूपाकोट जस्ता सदावहार डाँडाको काखमा रहेको हलेसी मनोरम प्राकृतिक छटाले भरिपूर्ण छ । हलेसीमा विशेषतः महादेव, बसाहा र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् । अनौठा र आकर्षक प्राकृतिक चट्टानले झकिझकाउ हलेसी धाम दर्शन गर्न आउँदा आनन्द मिल्ने दर्शनार्थीको भनाइ छ ।

हलेसी महादेवको दर्शन गरेमा खडेरी तथा दुःखबाट मुक्ति, सन्तान लाभ, पदोन्नति तथा निरोगी हुने जनविश्वास छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू र बौद्ध धर्मको संगमस्थल हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्वपूर्ण मानिएको हलेसी क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धन हुनसके आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने र खोटाङ जिल्लाले आर्थिक समृद्धि हासिल गर्नसक्ने स्थानीयको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);