जयराम–हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जयराम–हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान  

खोटाङ। कालोपत्रे उक्किदा खोटाङको जयराम–हलेसी सडक खण्ड जिर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जिर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिकस्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी काठमाडौं लगायतका शहर जाने र आउने प्रमुख मार्ग हो ।दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ। सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ ।  खाल्डोमा वर्षायाममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।यो सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेको जिम्मामा छ । तर, मर्मतमा ध्यान दिएको छैन । ‘सडकको अवस्था नाजुक हुँदा हलेसी आउजाउ गर्ने पर्यटक र दर्शनार्थीलाई यात्रा गर्न कठिन भइरहेको छ,’ कार्यकारी निर्देशक भुजेलले भने, ‘तत्काल मर्मत नगरे दुर्घटना निम्तिने खतरा छ । खराब अवस्थाको सडकका कारण जिल्लाप्रति नकरात्मक सन्देश गइरहेको छ।’

सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले ०६५ देखि ०६७ मा ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीनरचार वर्ष नबित्दै उक्किन थालेको थियो । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाई कम गुणस्तरको ओटासिल हालेका कारण आठ वर्ष नपुग्दै जयराम–हलेसी सडकको अवस्था कच्ची सडक सरह बनेको स्थानीय जीवन राईले बताए। ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्रे गर्न लागेपछि स्थानीयले उसबेला सडक संघर्ष समिति समेत गठन गरेको थियो । जयरामदेखि हलेसीसम्मको सडक पिच गर्ने क्रममा ठेकेदारले बस्तीनजिक बाहेकका विभिन्न खण्डमा पिच नै नगरी छाडेको थियो। सडकका बाँकी खण्डमा पनि पिचको काम पूरा गर्न भन्दाभन्दै ठेकेदार भागेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);