काठमाडौं, १ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी सुरु गरेको छ ।
पार्टीका शीर्ष नेताले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्यलगायत विषयमा प्रारम्भिक छलफल गरेको, पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामबारेमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको तयारीबारे उनले बताए । यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनीतिक दलसँग यसबारेमा छलफल गरी सहमतिका लागि प्रयास गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि तत्काल प्रदेश प्रमुख नियुक्त हुनुपर्ने कानूनी बाध्यता छ ।
राष्ट्रियसभाका लागि मतदाता हुने प्रदेशसभा सदस्यले निर्वाचन तालिकाअनुसार त्यसअघि नै प्रदेश प्रमुखबाट शपथ लिइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनको तयारीसँगै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरिहेको छ । छलफलमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी थिए ।




