काठमाडौं, २० पुष । सरकारले आज साँझसम्म राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगको परामर्श पछि आज बस्ने मन्त्रिपरिषद बैठकले माघ २५ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको हो । त्यस्तै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकामका विषयमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बिना निश्कर्ष टुंगिएको छ ।
निर्वाचन पश्चात् राष्ट्रिय पार्टी बनेका पाँच दलका शीर्ष नेतालाई बालुवाटार बोलाइएको थियो । प्रदेश प्रमुखमा सहमति जुटाएर आजै नियुक्ति गर्ने तयारी पनि प्रधानमन्त्रीले गर्नुभएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित भएको थियो । राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको छ । तर, दलहरुको अडानका कारण सहमति बन्न सकेन । प्रतिनिधिसभा निर्वाचनबाट ५ पार्टी एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी भएका थिए ।
अस्वस्थताका कारण एमाले अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागि नहुनुभएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । कांग्रेसबाट प्रधानमन्त्री देउवासहित नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागि हुनुभएको थियो ।
एमालेबाट पूर्वसभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल र पूर्वमन्त्री विष्णु पौडेल, राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर, अनिल झा, महेन्द्र राय यादव, राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो । त्यस्तै फोरमबाट राजेन्द्र श्रेष्ठ लगायत नेता बैठकमा सहभागि हुनुभएको थियो ।