तालाबन्दी भएको महिना दिन बितिसक्दा पनि खुलेन सु.प विश्वविद्यालयको ताला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तालाबन्दी भएको महिना दिन बितिसक्दा पनि खुलेन सु.प विश्वविद्यालयको ताला

पुष्कर भट्ट । सुदूरपश्चिम विश्वविद्यालयमा साउन १ गते राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजनीतिक भागबन्डामा पदाधिकारी र प्राध्यापक नियुक्त गरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी भएको ४० दिन बितिसक्दा पनि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय खुल्न सकेको छैन भने नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको भन्दै परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।

४० दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका प्रशासनिक कामकाज प्रभावित भएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले विश्वविद्यालयमा राजनीतिक भागवन्डा अन्त्य हुनुपर्ने मागका साथ तालाबन्दी गरिएको बताएका छन् । रावलले तालाबन्दी भएको एक महिना बितिसक्दा समेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदिएको बताए ।

एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएकाले तालाबन्दी गरेको बताए । विश्वविद्यालयका पदाधिकारीले आफ्नो कार्यकाल सकिने बेला आर्थिकलाभ हुने गरी आङ्गिक क्याम्पसको सम्बन्धन दिएको पन्तले बताए ।

विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । विश्वविद्यालयका सामान्य प्रशासन महाशाखाका प्रमुख भवानीदत्त पाण्डेयले विद्यार्थी सङ्गठनले नियुक्ति खारेजीको माग राखेको र विश्वविद्यालयले नियमसङ्गत गरेको नियुक्त खारेज नहुने भएपछि पटक–पटक वार्ता र संवाद हुँदा पनि निष्कर्षमा पुग्न नसकिएको बताए ।

प्रशासन महाशाखाका प्रमुख पाण्डेयले विश्वविद्यालयका कर्मचारीहरुले विश्वविद्यालयको हकहित भन्दा पनि आफनो हकहितका विद्यार्थीहरुलाई उक्साएर गर्ने गरेकालेसुदूरपश्चिम विश्वविद्यालयमा ताला माथी ताला लागीरहेको समेत बताएका छन । आफ्नै कार्यालयमा तालाबन्दी हुँदा पनि उपकूलपति अम्मराज जोशी र रजिष्ट्रार यज्ञराज पाठकलाई तालाबन्दी खोल्न हतार छैन, बरु हतार छ नयाँ कलेजहरुलाई सम्बन्धन दिन र डडेल्धुरामा मेडिकल कलेज सुरु गर्न । तालाबन्दीकै बीच सुदूरपश्चिम विश्वविद्यालयले प्राविधिक विषयका लागि सम्बन्धन दिने सूचना खोलेको छ । यतिबेला विश्वविद्यालयमा कार्यरत करिब १ सय कर्मचारी र पदाधिकारी घरमैं आराम गरिरहेका छन् ।

विश्वविद्यालयमा भएको तालाबन्दी महिनाभन्दा बढी हुँदासमेत विश्वविद्यालय सञ्चालन गर्न कसैले चासो लिएको पाइँदैन। विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो ।

उच्च शिक्षाको पहुँचबाट लामो समय बञ्चित रहेको सुदूरपश्चिममा स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना ग¥यो । विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भए पनि विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र अन्य कर्मचारी नियुक्तिमा हुने राजनीतिक भागवन्डाले विश्वविद्यालयको साख खस्किँदै गएको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा राजनीतिक भागवन्डाले विश्वविद्यालय धरासायी हुँदै गएको छ । विश्वविद्यालयसँग कुनै माग भए वार्ता र संवादका माध्यमबाट सामाधान गर्नुको साटो लामो समयसम्म बन्द, हडताल हुनु दुःखद् हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);