काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको मोन्ट्रियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ ।
सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनायो । जगुअर्सले दिएको १३१ रनको लक्ष्य पाँच विकेट गुमाउँदै पूरा गरेपछि टाइगर्स च्याम्पियन बनेको हो ।
टाइगर्सको जितमा दीपेन्द्र १६ रन बनाउँदै रिटायर आउट भए । फाइनल खेलमा सन्दीप भने विकेटविहीन रहे । दीपेन्द्रले पहिलो सहभागितामै कुनै अन्तर्राष्ट्रिय लिग मै उपाधि हात पारेका हुन । प्रतियोगिताभर दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो प्रभाव छोड्न सफल भए ।
प्रतियोगितामा दीपेन्द्र टाइगर्सको लागि सर्वाधिक रन बनाउने ब्याटरमा तेस्रो नम्बरमा रहे । दीपेन्द्रले ६ इनिङमा १ सय ४३ बल खेल्दा १ सय ४० रन बनाए । उत्कृष्ट प्रदर्शन २८ रहँदा स्ट्राइकरेट १०२.१४ र कुल १२ चौका प्रहार गरे । । फिल्डिङ भने दीपेन्द्रको त्यतिनै उत्कृष्ट रह्यो । उता सन्दीप लामिछानेले प्रतियोगितामा ८ खेलमा ११ विकेट लिए ।
उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा चौथो नम्बरमा रहे । नेपालबाट हालसम्म सन्दीप लामिछाने, कुशल मल्ल, पारस खड्का, करण केसी, सोमपाल कामी र दीपेन्द्रले विदेशी लिग खेलेका छन् । महिलातर्फ रुबिना क्षेत्री र सीता रानामगरले फेयर ब्रेक टि२० क्रिकेट प्रतियोगिता खेलेका छन् । सीता पनि गतवर्ष पहिलो सहभागीतामै टोर्नाडोसबाट खेल्दै च्याम्पियन बनेकी थिइन् ।




