८० वर्ष पुगेर पनि आफ्नै हातपाखुरा बजाएर जीविका चलाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

८० वर्ष पुगेर पनि आफ्नै हातपाखुरा बजाएर जीविका चलाउँदै

शिखा श्रेष्ठ, धादिङ
धादिङ, २९ पुष । उमेर ढल्कँदै गएपछि हरेक मानिसले परिवार या आफन्तको सहारा खोज्छ । तर, धादिङको रुवीभ्यालीकी सानीमाया तामाङ ८० वर्ष पुगेर पनि आफ्नै हातपाखुरा बजाएर जीविका चलाउँदै आइरहेकी छन् ।

सानीमायाका श्रीमान्, दुई छोरा र दुई छोरी रहेको अहिले एउटी छोरीमात्र जीवित छिन् । छोरीलाई विवाह गरेर पठाएपछि उनी परिवारविहीन बनिन् । तर पनि जीवन बिताउन कसैको सहरा खोज्नुपरेको छैन । एक्लै भए पनि सानीमायाले खुसीसाथ जीवन बिताइरहेकी छन् ।

सानीमाया बिहान सबेरै उठ्छिन । खान बनाएर खान्छिन् अनि खोला किनारमा गिट्टी कुटन् जान्छिन् । पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि उनी बिहान ८ बजे नै थोपल खोला पुगिसक्छिन् । दिनभरमा पाँच बोरा गिट्टी कुट्छिन् र तीन सय ५० रुपैयाँ कमाउँछिन् । सरकारले दिने एक हजार पनि उनको आम्दानीमा थपिन्छ ।

सानीमाया १३ वर्षदेखि एक्लो जीवन बिताइरहेकी थिइन् । २०७२ सालको भूकम्पले गाउँबस्ती नै ध्वस्त पारिदिएपछि गाउँलेसँगै सदरमुकाम धादिङबेँसीनजिकै विस्थापित भएपछि उनी गिट्टीको सहारा लिन बाध्य भइन् ।

भूकम्प प्रभावितले पाउने सरकारी अनुदान रकमको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर पनि उनले घर बनाउन चाहिनन् । गाउँमा गएर खेतीपाती गर्न नसक्ने भएपछि गाउँ नफर्किने बरु गिट्टी कुटेरै जीविका चलाउने अठोट उनमा छ ।

८० वर्षसम्म छिप्पिएको हातमा ठेला उठाउँदै घनले ढुंगा फोर्नमै उनलाई आनन्द मिल्छ । उनको हाँसोले पनि यही भन्छ– हात नफैलाऊ, स्वावलम्वी बन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);