पुष्कर भट्ट, साउन २२ । नेपाल सरकारले असार १ देखि भाद्र मसान्त सम्म खोलानाला बाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि कञ्चनपुरको बेदकोट नगरपालिकामा बर्षातका समयमा पनि नदी र खोलामा उत्खनन कार्य भईरहेको पाईएको छ । बगुन खोलाबाट अवैध रुपमा उत्खनन गरिएका ढुङ्गा नदी बगर, सार्वजनिक र सामुदायिक वन क्षेत्रमा थुपारिएका छन् ।
प्राकृतीक श्रोत,सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भए पनि कञ्चनपुरको बेदकोट नगरपालिका–४ मा वडाध्यक्ष नरेन्द्र बोहरा आफै ढुंगा तस्करीमा संलग्न रहेको स्थानीयले आरोप लगाएका छन । कञ्चनपुरको बेदकोट नगरपालिका ४ मा रहेको बगुन खोलामा वडा अधक्ष्यकै मिलेमतोमा गैर कानुनी रुपमा नदीजन्य पदार्थहरु उत्खनन् (चोरी, तस्करी) भईरहेको स्थानीयहरुले आरोप लगाएका छन । आफ्नै वडा भएर बग्ने बगुन खोलाबाट बोहराले अवैध रुपमा ढुंगा संकलन गर्ने र त्यसलाई सामुदायिक वन तथा नदी किनारमा भण्डार गरिरहेको स्थानीयले बताएका छन्।
बेदकोट नगरपालिका ४ का स्थानीय रघुबिर भट्टले बगुन खोलामा लामो समय देखी दोहन भईरहेको बताए । भट्टले खोलाको दोहन रोक्नका लागी सारोकारवाला निकाय संग पनि हारगुहार गरेको समेत बताए ।
चुरे भएर बग्ने बेदकोट नगरको बगुन, साजगाड लगायातका आसपासका खोला अहिलेपनि दोहन हुन थालेका छन । पालिकाले टेण्डर खोलेर रोयल्टी संकलन गर्दा मापदण्ड बिपरित उत्खनन हुँदा खोला कुरुप बन्ने देखि गाँउमा वाढी विपदका घटना निम्तिन लागेका छन ।
अर्का स्थानीय भान बहादुर महराले सरकारले बर्खायाममा खोला नाला बाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि बगुन खोलामा भने स्थानीय टेक्टर धनीहरुले खोलाबाट धमाधम ढुङ्गा निकाली रहेको बताए ।
बेदकोट नगरपालिका–४ बगुनको सिद्ध बैजनाथ सामुदायिक वनका अध्यक्ष राजेन्द्र भण्डारीले गैर कानुनी रुपमा ढुंगा चोरी तस्करी नियन्त्रणका लागि सामुदायिक वनको एक्लो प्रयासबाट सम्भव नभइरहेको बताए ।
वडाध्यक्ष बोहराले भने स्थानीयले लगाएको आरोपलाई अस्वीकार गरेका छन् । उनले पहिला ठेक्कापट्टाको काम गर्ने गरेको वडाध्यक्ष भएपछि छाडिसकको बताए ।
वडाध्यक्ष बोहराले जीवन चलाउन कि त घुस खानु प¥यो, कि केही काम गर्नुप¥यो भन्दै नदीको गैर कानुनी दोहन रोक्न आफुले चढ्ने सरकारी मोटरसाईकल समेत प्रहरीलाई दिएर खटाएको उनको जिकिर छ । स्थानीयहरुले नदीको बगरमा थुपारेर राखेका ढुङ्गादेखि गैर कानुनी रुपमा उत्ख्नन गरिएको ग्राभिल वडा कार्यालयले जफत गर्ने वडाध्यक्ष बोहराको भनाई छ । बगुन खोलामा गैर कानुनी रुपमा नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन्।