संघमा दुई वटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँः राजेन्द्र लिङदेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

संघमा दुई वटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताउनुभएको छ ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताउनु भयो । उहाँले सेना बिनाको राज्य बनाउने प्रश्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताउनु भयो । उहाँले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरु कटौति गरेर खर्च कम गर्नुपर्ने बताउनु भयो । उहाँले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गर्नुभयो । उहाँले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको स्थायित्वका तीन पिल्लरहरु थिए, राजसंस्था, सनातन हिन्दु राज्य र नेपाली सेना । जसमध्ये दुई राजसंस्था र सनातन हिन्दु राज्य मासिसके भने अब अहिले आएर नेपाली सेनामाथि आक्रमण भइरहेको छ । खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेना बिनाको राज्य बनाउने मोडल प्रश्ताव गरिरहेको छ । यो दुर्भाग्यको कुरा हो । नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काडेर तलव भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरुको संख्या कटौति गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुने काम नै छैन, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रिय सभा खारेज गर्ने प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ । त्यसैले सेनालाई छुनु, चलाउनु हुँदैन, सेना भनेको सीमाको रक्षा,विपद् व्यवस्थापन, विकास निर्माणमा दिएको योगदानलाई बिर्सनु हुँदैन । सेनाको मनोबल घटाउने कुरा गर्नु देशको लागि दुर्भाग्य हो । यसलाई सशक्त, प्रभावकारी बनाउनुपर्छ । सेनाको हात हतियारहरु बलियो बनाएर राख्नुपर्छ । सेनालाई कमजोर पार्ने कल्पना गर्नु भनेको राष्ट्रिय हीत विपरित हो, राष्ट्रघात हो ।’

अध्यक्ष लिङदेनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा बिरोध गर्ने चेतावनी दिनुभयो । उहाँले सामान्य मानिसले एक अर्ब बढीको सामान एकै पटकमा ल्याउने कल्पना नगर्ने भन्दै सामान्य नागरिकलाई समाएर कम्पनी मालिकलाई समाएँ भन्ने फुर्ति नलगाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चेतावनी दिनुभयो । उहाँले सुन तस्करी प्रकरणमा ठूलो तहका मानिसको संलग्नता रहेको सहजै कल्पना गर्न सकिने भन्दै अनुसन्धान पूर्ण रुपमा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुन काण्डमा संलग्न मानिसको जरासम्म नै पुग्नुपर्छ । दोलखाको २१ वर्षीय केटो जसको घरमा बिहान बेलुका खानको राम्रो बन्दोबस्ती छैन । उसले एक अर्बको सामान एकैदिनमा ल्याउने कल्पना गर्न सकिँदैन । कम्पनी मालिकलाई पक्राउ गरेँ भनेर जुँगामा ताउ लगाउने भनेर ठूलै काम गरेँ भनेर भन्दा कसैले पत्याउँदैन, ठूला मान्छेको नाम आएको छ, अनुसन्धानको दायरामा आउनुपर्छ । सुन छिराउने कामको प्रकृतिलाई हेर्दा सामान्य मानिसबाट भएको काम होइन, माथिल्लो तहका मानिसको हात छ, यसमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ । आम नागरिकले पनि माथिल्लो तहको संलग्नता छ भन्छन् । यसमा सानाबाट हुँदै हुँदैन ।’

अध्यक्ष लिङदेनले सुन काण्डसँग सम्बन्धित विषयमा सबै दलले छानबिन समितिको माग गरेकाले छानबिन समिति नभएसम्म १५ गतेको संसद बैठकमा पनि बिरोध हुने चेतावनी दिनुभयो । कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय दलका नेताहरुलाई आलु उपहार दिएको र यो कृषकलाई प्रोत्साहनका लागि दिइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);