अझै पत्ता लागेन बरामद भएको सुनको तौल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अझै पत्ता लागेन बरामद भएको सुनको तौल

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो भन्ने अझैँ निश्चित भइरहेको छैन ।

अधिकारीहरूका अनुसार बरामद गर्ने निकाय राजश्व अनुसन्धान विभागमा त्यसबारे धेरैले चासो राखेको पाइएको छ । गत साता मंगलबार बरामद गरिएको उक्त सुन बिहीवार राष्ट्र बैंकलाई बुझाइएको थियो । राष्ट्र बैंकको टक्सार महाशाखाको सेफमा त्यसलाई सुरक्षित राखिएको बताइएको छ ।

‘ब्रेक शू’बाट छुट्टाएर सुन पगालेपछि त्यसको तौल लिने अधिकारीहरूले बताएका थिए । साउन २ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भई बाहिर निकालिएका बेला राजश्व अनुसन्धान विभागले त्यस्तो सुन बरामद गरेको थियो । सुनको तौल करिब १०० किलो भएको जनाएको विभागले त्यसको तौल लिन ४ गते बिहीवार राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्र बैंकका अनुसार विभागले तौल लिने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि एक हप्ताभित्र उक्त प्रक्रिया पूरा गर्न सकिने बताएको छ ।

पत्र पाएपछि नेपाली सेना, मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा, आन्तरिक लेखा परीक्षण र राजश्व विभागका प्रतिनिधिको रोहबरमा सुन राखिएको पोका खोलिने छ । र सुनलाई अलग गरेर गलाइने छ । त्यो सुन भए वा नभएको अथवा सुनको शुद्धता वा गुणस्तर पहिचानको निम्ति नमुना निकालेर प्रयोगशालामा परीक्षण गरिने छ । राष्ट्र बैंकले राजश्व अनुसन्धान विभागले पत्र पठाए लगत्तै प्रक्रिया सुरु गर्न सकिने बताएको छ । विभागले भने बरामद भएको सामानसँग अनुसन्धानको प्रक्रिया पनि जोडिएकाले त्यसको एउटा चरण पार गरिसकेपछि राष्ट्र बैंकलाई पत्र पठाउने जनाएको छ ।

अनुसन्धानकर्ताहरूको टिम पनि पूरा भइसकेको र तौलको निम्ति केही दिनमै प्रक्रिया सुरु हुनसक्ने अधिकारीहरूले जनाएका छन् । उक्त सुन तस्करी प्रकरणमा हालसम्म १६ जनालाई पक्राउ गरी विभागले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);