प्रविधिमैत्री बन्दै राजनीतिक दल, अनलाइनमार्फत सदस्यता वितरण शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

प्रविधिमैत्री बन्दै राजनीतिक दल, अनलाइनमार्फत सदस्यता वितरण शुरू

काठमाडौं । नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू विस्तारै स्याचुरेसन (डिजिटलीकरण) अर्थात प्रविधिमैत्रीउन्मुख हुन थालेका छन् । आफ्नो वेभसाइटमार्फत पार्टीका गतिविधि सार्वजनिक गर्न थालेका दलहरूले सदस्यता वितरण र नवीकरणसमेत अनलाइन माध्यमबाट शुरू गरेर दलहरू प्रविधिमैत्री बन्न थालेका हुन् ।

नेपालका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (समाजवादी) पार्टी, जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरूले अनलाइनमार्फत आफ्नो दलको सदस्यता वितरण शुरू गरेका छन् । अनलाइन प्रणालीमार्फत पार्टी सदस्यता वितरण नवीकरण शुरू गरे पनि दूरदराजमा अनलाइनको पहुँच नपुग्दा र पार्टी सदस्यहरूलाई डिजिटल माध्यमका विषयमा जानकारी नहुँदा पूर्णरूपमा लागू गर्न दलहरूलाई उत्तिकै चुनौती छ । यद्यपि, उनीहरूले आफ्ना मातहतका पार्टी कमिटीहरूलाई धेरथोर जानकारी भने गराएर सदस्यता वितरणको थालनी गरिसकेका छन् । पार्टी सदस्यहरू नयाँ पुस्ता र पढेलेखेका मात्रै नभएकाले अनलाइन सदस्यता वितरणका चुनौतीहरू रहेकाले अनलाइनकै भर पर्न सक्ने अवस्था भने नरहेको नेताहरूले बताएका छन् ।

नागरिकहरू अनलाइनको माध्यमबाट एकै ठाउँमा बसेर विश्व चिहाउन सक्ने युगतर्फ अघि बढिसके पनि पुराना पुस्ता, अशिक्षित र अनलाइन इन्टरनेटको पहुँच बाहिर रहेका दुर्गमका नागरिकका लागि यो दलहरूको यो प्रयास निकै कठिन रहेको छ । पार्टी सदस्यता नयाँ पुस्ता र पढेलेखेका मात्रै नभएर पुराना व्यक्तिहरू, दूरदराजका गरिब, किसान र निरक्षर व्यक्तिहरूसमेत पार्टीको सदस्य भएकाले दलहरूले शुरू गरेको अनलाइन प्रणाली त्यस्ता सदस्यहरूका लागि पहुँच बाहिर रहेको नेपाली कांग्रेसका सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो । पार्टीलाई विस्तारै डिजिटल फ्रेममा लैजान लागेको भए पनि प्राविधिक अप्ठ्याराहरू रहेको उहाँले बताउनुभयो ।

नेता विश्वकर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले अहिले पार्टी सदस्यताका लागि अनलाइन फारम भर्न सकिने बनाएका छौं । त्यसैका लागि जिल्ला सभापतिहरूलाई गत हप्ता मात्रै केन्द्रीय समितिले दुईदिने अभिमुखीकरण गरेर समेत पठाइसकेको अवस्था छ । तर, दुर्गमका नागरिकहरू जे पार्टीको आस्था राखेर वर्षौंदेखि सदस्य हुनुहुन्छ उहाँहरू र नयाँ सदस्यता लिन चाहने कतिपय सामान्य लेखपढ पनि नभएका र इमेल इन्टरनेटको पहुँच बाहिर रहेका दुर्गम भूभागका नागरिकहरूका लागि अहिले नै यो प्रणाली समस्याका रूपमा छ ।’ विकासको गतिसँगै दूरदराजका गाउँबस्तीहरूमा समेत इन्टरनेटको पहुँच पुगेपछि पार्टीले शुरू गरेको डिजिटलाइजेसनको अभियानले सार्थकता पाउने उहाँको भनाइ छ ।

पार्टी सदस्यता लिन चाहने स्वदेशदेखि विदेशमा रहेका जोकोही व्यक्तिका लागि सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएका दलहरूले जिल्ला तहका नेताहरूलाई समेत प्रशिक्षित गर्दै लगेका छन् । अनलाइनसँगै परम्परागत रूपमा भर्दै आएको हस्तलिखित फारमलाई पनि अहिले नै नहटाएको दलहरूले जनाएका छन् । नेकपा एमालेका सचिव रघुवीर महासेठले अनलाइनबाटै पार्टी सदस्यता वितरण गरिरहेको बताउनुभयो । ‘पार्टीका हरेक गतिविधि डिजिटलाइजेसनतर्फ उन्मुख भइरहेको छ’, उहाँले भन्नुभयो– ‘हाम्रा हरेक गतिविधि डिजिटल माध्यमबाट प्रवाह गर्ने काम भइरहेको छ । पार्टी सदस्यतासमेत अनलाइनबाटै भर्न थालिसकेका छौं । तर, कार्यकर्ताहरू पुराना र निरक्षरसमेत भएकाले पुरानै तरिकाको हस्तलिखित फारमलाई समेत कायमै राखेका छौं ।’

पार्टी सदस्यता नयाँ पुस्ता र पढेलेखेका मात्रै नभएर पुराना व्यक्तिहरू, दूरदराजका गरिब, किसान र निरक्षर व्यक्तिहरूसमेत पार्टीको सदस्य भएकाले उनीहरूको पहुँच अहिले नै डिजिटल युगसम्म पुगिनसकेको भए पनि सम्भव भएका ठाउँहरूबाट अनलाइनमार्फत सदस्यता फारम भर्ने अभ्यास शुरू भइसकेको नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । पुराना र ठूला दलहरूले परम्परागत फारमको विकल्पमा अनलाइन फारमलाई विस्तारै लैजाने बताएपछि रास्वपाले भने प्रायः सबै सदस्य अनलाइनबाटै आह्वान गरिरहेको छ । कतिपय सदस्यता लिन चाहेर पनि नजानेकाहरूका लागि पार्टी कार्यकर्ताले सहजीकरण गरिदिएर अनलाइनबाटै सदस्यता लिने दिने गरेको रास्वपाका नेताहरूले बताएका छन् ।

सबै भन्दा पुरानै सोचको दल भनेर चिनिने राप्रपाले समेत अनलाइन पार्टी सदस्यता आह्वान गरेको छ । यस पार्टीले सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएको पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिनुभयो । बिहीबारबाट अनलाइनबाटै सदस्यता फारम भर्न शुरू गरिएको उहाँले बताउनुभयो । ‘राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ’ –तामाङले भन्नुभयो । साधारण सदस्यका लागि १० रुपियाँ, सक्रिय सदस्यका लागि एक वर्षको १ सय ५० रुपियाँ र ५ वर्षका लागि ५०० रुपियाँ शुल्क लाग्ने उहाँको भनाइ छ ।

नेकपा ९एकीकृत समाजवादी० ले पनि शुरूबाटै अनलाइन सदस्यता वितरण गरेको नेताहरूले दाबी गरेका छन् । उक्त दलका एक नेता अमृत बस्नेतले नेकपा समाजवादी पार्टी पूर्णरूपमा डिजिटल बन्ने अभ्यासमा रहेको बताउनुभयो । ‘हामीले भूगोलका नेता कार्यकर्ताहरूलाई समेत विस्तारै प्रविधिमैत्री बनाएर गाउँगाउँबाट अनलाइनमार्फत सदस्यता वितरण र प्राप्तिको काम गर्ने काम गर्ने छौं’ –उहाँले भन्नुभयो । राजनीतिक दलहरू विस्तारै डिजिटलीकरण बन्दै गएसँगै इच्छा लागेको दलको सदस्यता लिन चाहने व्यक्तिहरूले आफ्नो मोबाइल फोनबाटै सदस्यता आवेदन फारम भर्न सक्ने भएका छन् । तर, दलहरूले अनलाइनमार्फत कति सदस्यता वितरण तथा नवीकरण गरे भन्ने तथ्यांक सार्वजनिक गरेका छैनन् । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);