एजेन्सी, २५ असार । भारतको हिमाचलको मण्डीमा बाढीले घर बगाएको छ । त्यहाँ हेर्दा हेर्दै तीनतले होटल ढले । उत्तराखण्डमा पनि बाढीले बस बगाएको छ । पछिल्लो २४ घण्टामा सात राज्यमा पहिरो र बाढीका छुट्टाछुट्टै घटनामा ५६ जनाको मृत्यु भएको छ ।
मनालीमा ५२ वर्षको वर्षाको कीर्तिमान तोडिएको छ । हिमाचलका मुख्यमन्त्रीले जनतालाई आगामी २४ घण्टा घरमै बस्न आग्रह गरेका छन् । राज्यका धेरै नदी र नहर खतराको निशानभन्दा माथि छन् । कुल्लुमा ब्याससँगै पार्वती र तीर्थन नदीहरू पनि बगिरहेका छन् । प्रदेशका विभिन्न क्षेत्रमा ६० सवारी साधन पानीको तीव्र बहावमा बगेका छन् । यसै क्रममा कुल्लुको कसौलमा ६ वटा गाडी पानीमा बगेका छन् ।
पञ्जाबमा सतलज नदी नजिकका १५ देखि २० गाउँ खाली गरिएको छ । यसै क्रममा लेह–लद्दाखमा भारी वर्षाका कारण ४५० वर्ष पुरानो घर भत्किएको छ । हिमाचलमा ४६ घर ध्वस्त भएका छन् । अहिले भारतभर सामान्यभन्दा बढी वर्षा भइरहेको छ । असार ९ गतेसम्मको सामान्य वर्षा २३९ मिलिमिटर थियो । अहिले यो सङ्ख्या २४३ मिमीमा पुगेको छ, जुन २% बढी हो।
दिल्लीमा ४१ वर्षको वर्षाको कीर्तिमान तोडिएको छ । गुरुग्राममा सडकहरू नदी बन्यो। यमुनामा पानीको सतह बढ्दै गएपछि चेतावनी दिइएको छ । खतराको निशान नजिक पुगेको छ ।