समितिहरुको सभापति तत्काल चयन गर्न श्रेष्ठको माग | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

समितिहरुको सभापति तत्काल चयन गर्न श्रेष्ठको माग

काठमाडौं, ४ असार । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि अति आवश्यक ऐन, नियम, कानुन बनाउन पनि ती समितिहरुको सभापति चयन कार्य ढिलाई गर्न नहुने बताउनु भयो । सांसद श्रेष्ठले समिति बनाउने काममा समेत ढिलाई भएकाले ती समितिहरुको सभापति चयन प्रक्रियामा भने ढिलाई गर्न नहुने बताउनु भयो । सांसद श्रेष्ठले समितिका सभापतिहरुको चयन नहुँदा स्थानीय तहको विकास, निर्माणको कामलाई अघि बढाउने कानुन निर्माणको काम समेत अवरुद्ध भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो सरकार बनेको ५ महिना १६ दिन भयो । मुख्य हाम्रो काम भनेको ऐन, नियम बनाउनु हो । आज समिति बन्नलाई धेरै लामो समय लाग्यो । समिति बनिसकेपनि समितिको सभापति चयन भएको छैन । जसले महत्वपूर्ण ऐन, नियम, कानुन बन्न सकेको छैन । आज हामीले राष्ट्रिय निजामती कर्मचारी ऐन बनाउन सकेको छैन । संघीय संसद प्रहरी ऐन बन्न सकेको छैन । संघीय निजामती शिक्षा ऐन बन्न सकेको छैन । त्यसकरणले आज स्थानीय तह निमित्तले चलाउनु परिरहेको छ । त्यसले गर्दा आज धेरै बेरुजुहरु बढेको छ । कानुन, नियम नभएको, कर्मचारी नभएकाले स्थानीय तहहरुको बेरुजु बढेको छ । त्यहाँको विकास, निर्माणमा अवरोध पुगेको छ ।’

सांसद श्रेष्ठले कानुनहरुको निर्माण गरी संघीयता कार्यान्वयनका कामहरुलाई तीव्रता दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);