एजेन्सी । लेबनानमा राजनीतिक संकट लम्बिदै गएको छ ।
लेबनानको संसदको १२ औँ अधिवेशन पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राष्ट्रपति पदको दौडमा दुई शिया पार्टी हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन प्राप्त मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिहले आफ्ना मुख्य प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री जिहाद अजौरलाई पछि पारे पनि राष्ट्रपति चयन हुन सकेको छैन ।
देशका दुई ठूला क्रिश्चियन पार्टीहरु फ्री प्याट्रियटिक मुभमेन्ट र लेबनानी सेनाको समर्थन प्राप्त छ । निर्वाचनमा प्रमुख प्रतिद्वन्द्वी जिहाद अजौरले ५९ र फ्रान्गिहले ५१ मतपाएपनि १ सय २८ सदस्यीय लेबनानी संसदमा दुई तिहाइ वा कुल ८६ मत प्राप्त गर्न गर्न नसकेपछि राष्ट्रपति चयन हुन नसकेको हो ।
सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्वराष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको छैन । ठुलो आर्थिक सङ्कटबाट गुज्रिरहेको लेबनानमा राष्ट्रपति चयन हुन नसक्दा समस्या झनै चुलिएको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्नेछ ।




