नक्कली भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको अपराध र ठगीमा संलग्न ३२ विरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको अपराध र ठगीमा संलग्न ३२ विरुद्ध मुद्दा

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । प्रहरीले पक्राउ परेका १६ जना र फरारको सूचीमा रहेका १६ जनालाई विपक्षी बनाएर राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध भएको निष्कर्ष निकाल्दै प्रतिवेदन तयार पारेको छ ।

यसैबीच प्रहरीले पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर हिरासतमा लिएको छ । उक्त घटनाको अनुसन्धानशुरू गरेको आइतबार ५७ औं दिन पुगेको छ । प्रहरीले बुधबारसम्ममा मुद्दा अदालतमा बुझाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरेकाले सरकारले उक्त प्रकरणलाई केही हदसम्म न्याय दिने आशा गरिएको छ ।

प्रहरीले उक्त प्रकरणमा दोषी देखिएका फरार अभियुक्तको बारेमा भने केही खुलाएको छैन । राजनीतिक संरक्षणमा भएको उक्त अपराधमा संलग्न रहेकामाथि कारबाही नहुने हो कि भन्ने आशंका उठिरहेको बेला प्रहरीले राज्यविरुद्धकै अपराधको अभियोगमा प्रतिवेदन तयार पारेपछि पक्राउ परेकामाथि कारबाही हुने आशा पलाउँदै गएको मानवअधिकारवादी अभियन्ता गोपालकृष्ण शिवाकोटीले बताउनुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आरोपीसँगको बयान सकिएको र प्रतिवेदन तयार भएको जानकारी दिँदै १६ जनालाई तीनदिन म्याद थप गरी अन्य अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका अझै केही व्यक्ति पक्राउ नपरेपनि हदम्यादका कारण प्रहरीले पक्राउ परेकासँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।

प्रहरीले अहिलेसम्म उक्त प्रकरणमा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका आरोपीको बयानलाई आधार मानेर प्रहरीले अझै १६ जना पक्राउ गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

अहिलेसम्म प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल०का सुरक्षा सल्लाहकार डा। इन्द्रजित राई, पूर्व सांसद आङटावा शेर्पा, रायमाझीका पुत्र सन्दीप रायमाझी, बिचौलियाहरू सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई, नेपाल हज कमिटीका अध्यक्ष समसेर मियाँलगायतलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।

गत चैत १२ गतेदेखि नक्कनी भुटानी शरणार्थी प्रकरणमाथि अनुसन्धान शुरू भएको थियो । यो प्रकरणमा सबैभन्दा पहिला चैत १२ गते केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुरका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै, चैत १५ गते मोरङका सागर राई पक्राउ परेका थिए । आरोपीको बयानका आधारमा पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका थिए ।

प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्तिको नाम भने गोप्य राखेको छ । यस घटनामा संलग्न रहेर पक्राउ नपरेका व्यक्तिहरू भाग्न सक्ने भन्दै प्रहरीले उनीहरूको बारेमा कुनै पनि कुरा सार्वजनिक गरेको छैन । प्रहरीले खोजीको सूचीमा रहेकाहरूको खोजी पनि जारी राखेको जानकारी दिएको छ ।

प्रहरीले उक्त प्रकरणमा संलग्न रहेका बिचौलियालाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा विभिन्न पार्टीका नेताहरूलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । बिचौलियाले गृह मन्त्रालयका अन्य कर्मचारी र गृह मन्त्रालयकै सवारी साधन प्रयोग गर्ने र ती नक्कली भुटानी शरणार्थी बनेर जान खोज्नेलाई विभिन्न ठाउँमा लैजाने, ल्याउने गर्नुका साथै संकलन भएको रकमसमेत सोही सवारीसाधनमा राखेर सिंहदरबारका साथै विभिन्न शक्ति केन्द्रमा पु¥याउने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देखिए अर्का बिचौलिया

भारतबाट नेपाल आएर लामो समयदेखि राजनीतिक क्षेत्रमा पहुँच बनाउँदै आएका बेचन झासमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।

पक्राउ परेका बिचौलिया रामशरण केसीले झालाई उक्त प्रकरणमा राजनीतिक नेतृत्वलाई मिलाएबापतको २ करोडको चेक दिएको खुलासा भएको छ ।

जुनसुकै दलका नेता प्रधानमन्त्री भएपनि बालुवाटारमा सहज पहुँच राख्न सक्ने झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू आफूले मिलाउने भन्दै रकम असुल गरेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।
नेपालका ठूला ठेक्कापट्टामा समेत सेटिङका काम मिलाउँदै आएका झा उक्त प्रकरण सार्वजनिक भएपछि अहिले फरार भएका छन् । नेपाली कांग्रेसका नेताहरूसँग बढी नजिक र नेपालस्थित भारतीय दूतावासमा समेत राम्रो पहुँच बनाएका झा यसअघि पनि विवादमा आएका पात्र हुन् ।

यसैबीच हाल प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद आङटावा शेर्पाबिरुद्ध काठमाडौं प्रहरी परिसरमा ५ जनाले उजुरी दिएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै दोलखाका ५ जनासँग शेर्पाले जनही ६ लाख रुपियाँ लिएको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको काठमाडौं प्रहरी पसिरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘निवेदन आएको छ, हामीले त्यसलाई अध्ययन गरिरहेका छौं । त्यसलाई पनि प्रहरीले तयार पारेको प्रतिवेदनमा समावेश गराउने तयारी गरेका छौं ।’ समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);