काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले काँग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद कोईराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताउनु भयो । उहाँले अहिले केन्द्रिय समितिमा धेरै सदस्य रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको बताउनु भयो । उहाँले निर्वाचनका बेला आधा मात्रै केन्द्रिय सदस्यहरु जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस शहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोईरालाहरु गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रिय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कम सेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तिमा एउटामा दुई जना पुग्थे । अरु पार्टीका पार्टीका सदस्यहरु ग्रासरुट गरिरहेका छन् । तपाईहरु यहाँ बसिरहनु हुन्छ ।’
प्रथम राष्ट्रपति यादवले अरु पार्टीहरुले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भन्ै शहरमा मात्रै केन्द्रित भइरहेको बताउनु भयो ।




