काठमाडौं, २३ पुष । डिएगो कोस्टाले गोल गरेको खुसी मनाउँदा रातो कार्डको सामना गरेको खेलमा एट्लेटिको मड्रिडले शनिबार स्पेनिस ला लिगमा गेटाफेलाई २–० ले हराएको छ ।
गेटाफेका खेलाडीलाई कुहिनाले प्रहार गरेपछि ६२औं मिनेटमा पहिलो पहेंलो कार्डको सामना गरेका कोस्टाले ६८औं मिनेटमा गोलको खुसी मनाउँदा दोस्रो पहेंलो कार्डको सामना गरेका थिए । गोल गरेपछि उनले दर्शक बसेको ठाउँमा गएर खुसी मनाएका थिए । यससँगै कोस्टाले इबर भ्रमण गुमाउने भएका छन् । कोस्टाले गत सिजन चेल्सीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए । एन्टोनियो ग्रिजम्यानको पासमा एन्जेल कोरेराले १८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिएका थिए ।
चेल्सीबाट एट्लेटिको फर्किएपछि कोस्टाले क्लबका लागि गरेको यो दोस्रो गोल हो । उनले यसअघि कोपा डेल रेमा लेइडालाई ४–० ले हराउँदा गोल गरेका थिए । नयाँ खेलाडी अनुबन्धन गर्न लागेको प्रतिबन्ध गत साता खुलेपछि कोस्टाले एट्लेटिकोबाट खेल्न थालेका हुन् । जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्किएको छ । १८ खेलबाट ३९ अंक जोडेको एट्लेटिको एक खेल कम खेलेको शीर्ष क्लब बार्सिलोनाभन्दा ६ अंकले पछि छ । १८ खेलबाट २३ अंक जोडेको गेटाफे आठौं स्थानमा छ ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।