दीपिकाले छाडेका १० फिल्म | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

दीपिकाले छाडेका १० फिल्म

बलिउड अभिनेत्री दीपिका पादुकोण शुक्रबार ३२ वर्ष पुगेर ३३ मा लागेकी छिन् । डेनमार्कको कोपेनहेगनमा सन् १९८६ को ५ जनवरीमा जन्मिएकी दीपिका अन्तर्राष्टिय ब्याडमिन्टन प्लेयर प्रकाश पादुकोणकी छोरी हुन् । उनकी आमा उजाला ट्राभल एजेन्ट हुन् भने बहिनी अनिशा गल्फर हुन् । सन् २००७ मा बनेको शाहरुख खानको ओम शान्ति ओमबाट हिरोइन बनेकी दीपिकाले त्यसपछि ये जवानी है दिवानी, ककटेल, चेन्नई एक्सप्रेस, रामलीला, ह्याप्पी न्यु इयर, पिकु, तमासा, बाजिराव मस्तानीलगायतका थुप्रै हिट फिल्म दिएकी छिन् । दीपिकाले यीबाहेक केही फिल्म ‘रिजेक्ट’ गरेकी थिइन्, जुन फिल्ममा उनको हिरो बलिउडका तीन खान आमिर, सलमान र शाहरुख थिए । कतिपय हिरोइन तीन खानसँग अभिनय गर्न पाउनुलाई आफ्नो अहोभाग्य ठान्छन् । तर, उनले भने फिल्म नै छाडेकी छिन् । उनले छाडेका केही फिल्मबारे भारतीय अनलाइनले रिपोर्ट तयार पारेका छन् ।

१. जिरो
हालै शाहरुख खानको नयाँ फिल्म जिरोको टिजर सार्वजनिक गरियो । आनन्द एल पल निर्देशक रहेको जिरोमा अनुष्का शर्मा र क्याट्रिना कैफ मुख्य हिरोइनमा छन् । खबर अनुसार अनुष्का र क्याट्रिनाभन्दा पहिला जिरोको हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । पद्मावतीको सुटिङ सेड्युलका कारण दीपिकाले जिरो स्विकार्न सकिनन् ।

२. सुल्तान
सन् २०१६ को हिट फिल्म सुल्तानको हिरोइनका लागि सुरुमा दीपिकालाई अफर गरिएको थियो । भारतीय मिडियाका अनुसार दीपिका पाँचौँपटकको अफरमा पनि सुल्तान खेल्न राजी भइनन् । त्यसपछि सलमानको जोडीका रूपमा अनुष्का शर्मालाई लिइएको हो । सुल्तान खेल्न दीपिकाले किन मानिनन्, त्यो रहस्य भने खुलेको छैन ।

३. धुम ३
क्याट्रिना कैफभन्दा पहिला धुम ३ बाट दीपिकालाई अफर गएको थियो । आमिर खान, अभिषेक बच्चनलगायतले अभिनय गरेको फिल्म व्यस्त सेड्युलका कारण दीपिकाले स्विकार्न नसकेको बताइन्छ । आमिरसँग फिल्म खेल्ने चाहना भए पनि दीपिकाले समय मिलाउन नसक्नाले धुम ३ छाड्नुपरेको हो ।

४. जब तब है जान
यश चोपडा निर्देशित अन्तिम फिल्म जब तक है जानको हिरोइनका लागि क्याट्रिना कैफभन्दा अघि दीपिकालाई अफर गएको थियो । दीपिकाले जब तक है जानमा मिरा थापरको भूमिका निर्वाह गर्न अस्वीकार गरिन् । शाहरुख खान मुख्य भूमिकामा रहेको सो फिल्म अस्वीकार गरेकोमा दीपिकाले वेलामौकामा थकथकी जाहेर गर्ने गरेकी छिन् ।

५. बजरंगी भाइजान
दीपिकाले ‘रिजेक्ट’ गरेको अर्काे सुपरहिट फिल्म हो– बजरंगी भाइजान । सलमान खानका साथ करिना कपुर मुख्य भूमिकामा रहेको बजरंगी भाइजानको हिरोइनका लागि करिनाभन्दा अघि दीपिकालाई अफर गरिएको थियो । दीपिकाले कुनै खास कारण नदेखाई यो फिल्म अस्वीकार गरेकी थिइन् । तर, पछि फिल्म हिट भएपछि दीपिकाले थकथकी मानेको मिडियाले उल्लेख गर्ने गरेका छन् ।

६. जय हो
सन् २०१४ मा रिलिज भएको जय हो फिल्ममा सलमान खानका साथ डेजी शाहले अभिनय गरेकी छिन् । डेजीभन्दा पहिला जय हो को हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । तर, उनीसँग निर्माताको कुरा नमिलेकाले सलमानको सिफारिसमा डेजी हिरोइन भएकी हुन् ।

७. किक
सलमान खानको अर्काे सफल फिल्म किकमा पनि दीपिकालाई हिरोइन लिने प्रयास गरिएको थियो । तर, यो फिल्ममा सलमानका साथमा ज्याक्लिन फर्नान्डिस देखिइन् । ज्याक्लिनभन्दा अघि दीपिकालाई अफर गरिएको भए पनि उनी शाहरुख खानका साथ ह्याप्पी न्यु इयरको सुटिङमा व्यस्त भएकाले किक छाड्नुपरेको थियो ।

८. प्रेम रतन धन पायो
सन् २०१५ मा रिलिज भएको सलमान खान स्टारर प्रेम रतन धन पायोमा सोनम कपुर हिरोइन छिन् । खासमा सोनमभन्दा अघि हिरोइनका लागि दीपिकालाई अफर गरिएको थियो । दीपिकाले समय मिलाउन नसक्ने बताएकी थिइन् ।

९. रोय
रणवीर कपुरका साथमा दीपिकाले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । खासगरी ए जवानी दिवानीको सफलतापछि निर्माता, निर्देशकले रणवीरका साथ दीपिकालाई लिन चाहन्थे । तर, दीपिकाले रोयमा अभिनय गर्न मानिनन् । त्यसकारण निर्माताले रोयमा ज्याक्लिन फर्नान्डिसलाई हिरोइन लिए । फिल्म सुपरफ्लप भयो । दीपिकाले रोय किन अस्वीकार गरिन्, त्यो भने खुल्न सकेन।

१०. फास्ट एन्ड फ्युरियस ७
हलिउड फिल्म फास्ट एन्ड फ्युरियस– ७ का लागि दीपिकालाई अफर आएको थियो । तर, त्यतिवेला उनी रणवीर सिंहका साथ गोलियोंका रासलीला रामलीलाको सुटिङमा व्यस्त थिइन् । त्यसैले भिन डिजेलका साथ फिल्म खेल्ने अवसर अस्वीकार गरिन् । तर, पछि उनी भिन डिजेलकै साथमा ट्रिपल एक्स–द रिटर्न अफ जेन्डर केजमा देखा परिन् ।

नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);