काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बुधबार १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालयको संख्यामा सहमति जुटेसँगै आज मन्त्रिपरिषदले पुर्णता पाउने भएको हो ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । तर छलफलका लागि नेताहरुले फेरि अपराह्नसम्मको भाखा राखेका थिए । सोहीअनुसार भएको छलफलले मन्त्रालयको सैद्धान्तिक सहमति जुटाएको हो । ९ दलबीच सरकारमा जाने सैद्धान्तिक रुपमा मन्त्रालयको संख्या टुंगो लगाएको हो ।
सत्तागठबन्धन दहरुबीच नेपाली कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२, लोसपा, नागरिक उन्मुक्ति र जनमतले एक–एक मन्त्रालय पाउने सहमति भएको छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहे रहनुभएको छ ।