काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले एमालेसँग पार्टी एकता प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास ललितपुर, खुमलटारमा मंगलबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले एमालेसँग पार्टी एकता प्रक्रियालाई गतिदिने निर्णय गरेको हो ।
पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको निष्कर्ष निकाल्दै त्यसलाई गतिदिने निर्णय गरिएको पार्टीकी प्रवक्ता पम्फा भुसालले बताइन् । उनले पार्टी एकता र सरकार गठनबारे पार्टी भित्र मत भिन्नता नरहेको जानकारी दिइन् । बैठकमा अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता, राष्ट्रिय सभाको निर्वाचन, सरकार गठन लगागत मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गरेका थिए ।
अन्तरघातबारे छानवीन गर्न समिति गठन
माओवादी केन्द्रले निर्वाचनमा अन्तरघातबारे छानवीन गर्न नेता अमिक शेरचन नेतृत्वमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहनु भएको समिति गठन गरेको छ । त्यसैगरी पार्टी एकता प्रक्रियाबाट आएका नेताहरुको व्यवस्थापन गर्न वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको कार्यदल पनि बनाएको छ ।




