चितवन, १८ पुष । निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड आज रातिदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
निर्माण कार्यलार्ई गति दिन आजदेख राति १० बजेबाट बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ । पुस १२ गते जिल्ला प्रशासन कार्यालयमा ठेकेदार र आयोजना प्रमुखसहित बसेको प्रशासन बैठकले सडक बन्द गरी कटिङको काम थाल्ने निर्णय गरेको थियो । दिउँसोको समयमा कटिङको काम गर्दा यातायात आवागमन अस्तव्यस्त हुने भएकाले रातिको समयमा आवश्यक वत्तीको प्रवन्ध गरी काम अघि बढाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
कटिङको काम बाँकी भएका स्थानहरु १६ किलो, २२ किलोमा ठेकेदार आफैंले लाइटको व्यवस्था गरी कटिङको काम आज रातिबाट नै शुरु गर्ने जनाइएको छ । २९ किलो र ३३ किलोमा विद्युत प्राधिकरणको समन्वयमा आवश्यक लाइटको प्रवन्ध गरीसकिएको छ ।सडकखण्डको १६ किलो भन्ने स्थानमा ३ सय मिटर, घुमाउनेमा २ सय मिटर र चेपाङडाँडामा ३ सय मिटर पहाड काट्न बाँकी छ ।
रातिको समयमा सडक बन्द हुने भएपछि काठमाडौंबाट आउने रात्री बसहरुलाई राति १० बजेअघि नै मुग्लिन पार गरिसक्न ट्राफिक प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत अनुरोध गरेको छ । ढिला गरेर आउने बस र साना सवारीलाई मुग्लिन बजारमा र ट्रकहरुलाई लेवाटारमा रोक्ने तयारी गरिएको छ । यस्तै तनहुँतर्फबाट आउने सवारी साधनहरुमध्ये बसलाई मुग्लिनमा र अन्यलाई आँबुखैरेनीतर्फ नै रोक्ने गरी समन्वय गरिएको छ । नारायणगढबाट काठमाडौं र पोखरा लगायतका क्षेत्रमा जाने सवारी साधनमध्ये बस र साना सवारीलाई दासढुंगाको मदन आश्रित पार्क नजिक र ट्रकहरुलाई रामनगरको ओरालो नजिकको भतेरी जंगलमा एकतर्फी बनाएर रोकिने जनाइएको छ।