मुग्लिन–नारायणगढ सडकखण्डमा राति यातायात बन्द गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

मुग्लिन–नारायणगढ सडकखण्डमा राति यातायात बन्द गरिने

काठमाडौं प्रवेश गर्ने लाइफलाइनका रुपमा लिइने मुग्लिन–नारायणगढ सडकखण्डमा यही पुस १८ गतेदेखि रातिको समय यातायात बन्द गरिने भएको छ ।

सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिने भएको हो । सरोकारवालाहरुको बैठकले सडक विस्तारको काममा सन्तोषजनक प्रगति नभएपछि कामलाई तीव्रता दिन रातिको समयमा सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा भएको बैठकले दिउँसोको समयमा पनि एकतर्फी मात्र सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा कालोपत्र गर्नेे काम अगाडि बढाउने निर्णय गरेको छ । उक्त सडकखण्डको १६ किलो र २२ किलोमा ५ सय मिटर तथा ३३ किलोमा ३ सय मिटर भित्तो काट्ने काम अझै बाँकी छ । ३६ किलोमिटर सडकमा अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह मात्र कालोपत्र गरिएको छ । बैठकमा ठेकेदार कम्पनीका प्रतिनिधिले भने रातिको समय काम गर्ने जनशक्ति अभाव हुने भन्दै दिउँसो आठ घण्टा सवारी आवागमन बन्द गर्न माग गरेका थिए ।