प्रचण्डको दोस्रो इनिङस | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रचण्डको दोस्रो इनिङस

बटुकराज गिरि ।
काठमाडौं । प्रधानमन्त्री बनेको तीन महिना नबित्दै दोस्रोपटक विश्वासको मत लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा निरन्तरता पाउनुभएको छ । तर, उहाँले पहिलोपटक विश्वासको मत लिंदाको भन्दा कम मत प्राप्त गर्नुभयो । अघिल्लोपटक २ मत मात्र विपक्षमा रहेकोमा यसपटक ८९ मत विपक्षमा रह्यो । यसबाट प्रचण्डका लागि आगामी दिनहरु चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्री नियुक्ति भएको ३ महिना बित्न नपाउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार दोस्रो पटक विश्वासको मत लिनु भयो । यस अघि गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिनु भएको थियो । त्यतिबेला उहाँलाई विश्वासको मत दिने सांसद २ सय ६८ थिए भने २ मत मात्र विपक्षमा परेको थियो । दोस्रोपटक विश्वासको मत लिंदा सत्ता समिकरणमा फेरबदल आइसकेको छ ।

यसअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिने नेकपा एमाले र राप्रपाले प्रचण्डलाई विश्वासको मत दिएनन् । दोस्रो पटक विश्वासको मत लिनु भएका प्रचण्डलाई नेकपा एमालेले इमानको प्रश्न उठायो । धोकाधडीको विषय उठाउँदै आएको एमालेले प्रचण्डलाई उचित समयमा देखाइदिने सन्देश अध्यक्ष केपी शर्मा ओलीले दिइरहनुभएको छ । यसकारण पनि प्रचण्डलाई आगामी दिनहरु सजिलो छैन ।

प्रचण्डलाई दोस्रोपटक विश्वासको मत दिने दलको संख्या केहीमात्र घटेको छ । तर, संसदको दोस्रो ठूलो दल एमाले विपक्षमा उभियो जोसँग प्रचण्ड नेतृत्वको माओवादीले विगतमा एकता नै गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनलाई भने उतिबेला अस्वाभाविक मानिएको थियो । यतिबेला प्रचण्डलाई १० दलको साथ मिलेको छ । अब उनले यी दलको माग पूरा गर्नुपर्ने चुनौतीहरु छन् । कतिपयको मन्त्रिमण्डलमा आकर्षक मन्त्रालयको दाबी छ ।

कतिपयको जेलमा रहेका नेता कार्यकर्ता रिहाई देखि क्षेत्रीय मुद्दाको समर्थनको मुद्दा छ । उनीहरुको माग सम्बोधन गर्नु चुनौती प्रचण्डसामु छन् । रोचक त यो छ कि प्रचण्डलाई विश्वासको मत दिंदा समर्थन गरेकै दलहरुले आउने बैशाखको पहिलो सातामा नै फेरी विश्वासको मत लिनुपर्ने त होइन भनेर भनेर व्यङ्ग्य गरे । एमालेसँगको सहकार्य दुई महिना मात्र टिकाउन सक्नुभएका प्रचण्डले काँग्रेससँगको सहकार्य कति महिना सम्म लानुहोला चासो बनेको छ ।

मौसम जस्तै छिटो छिटो बदलिने भइसकेको नेपाली राजनीति अस्थिरताको भूमरिमा परेको विश्लेषणहरु हुन थालिसकेका छन् । दुई ठूला दलको टकरावको फाइदा उठाएर प्रधानमन्त्री बन्नुभएका प्रचण्डले सत्ताको धेरथोर लाभ लिइरहनुहोला तर उहाँले देशलाई स्थिरता दिन भने नसक्नुहुने पछिल्ला घटनाक्रमले देखाइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);