संघीय संसद बैठकका लागि निर्माण कार्य तीब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संघीय संसद बैठकका लागि निर्माण कार्य तीब्र

रमेश वाग्ले
काठमाडाैं, १७ पुस । देश संघीय संरचनामा गएपछि भएको निर्वाचन परिणाम सार्वजनिक हुँनै लाग्दा संघीय संसद सचिवालय स्वागतको तयारीमा जुटेको छ । निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् बैठक बस्नैपर्ने संवैधानिक बाध्यताका कारण सचिवालय यतिबेला निर्माण व्यवस्थापनमा जुटेको हो ।

संसद सचिवालयले व्यवस्थापिका संसदको बोर्ड हटाएर संघीय संसद सचिवालयको बोर्ड राखिसकेको छ । विगतमा भन्दा दलको संख्या घटेकाले संसदीय दलको कार्यालयको चिन्ता भने सचिवालयलाई छैन । तर, १० वर्षसम्म एक सदनात्मक संसदको अभ्यास गरेको सचिवालय दुई सदनात्मकको तयारी गर्नुपर्दा अलि चटारोमा छ ।

संसदले पहिलो संविधानसभादेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोग गर्दै आएको छ । भूकम्पले जीर्ण भएको सिंहदरबारस्थित ग्यालरी बैठक भवन समयमा पुनर्निर्माण नगरिँदा सांसद संख्या घटेर पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकै भर पर्नुपर्ने अवस्था छ । विगतमा संविधानसभा र रुपान्तरित संसदले प्रयोग गरेको बैठक कक्षलाई प्रतिनिधिसभाको बैठक कक्षका रुपमा विकास गरिँदै छ भने नुप्से हललाई राष्ट्रियसभाको बैठक कक्षका रुपमा ।

दुबै सदनको संयुक्त बैठक पनि सञ्चालन गर्नुपर्ने भएकाले ६०१ कुर्सीसहितको हललाई नै मर्मत गरेर सञ्चालनको तयारी गरिएको छ । तर, राष्ट्रियसभा बैठकका लागि नुप्से हलमा रहेका २ सय ५० कुर्सीमध्ये अगाडिका ८० वटा कुर्सी हटाएर स्टेजको चौडाइ बढाइएको छ । राष्ट्रियसभा अध्यक्षको ड्यासअगाडि खाली ठाउँ ‘वेल’को व्यवस्था गरिएको छ भने त्यसपछिका ८० वटा कुर्सी सांसदले प्रयोग गर्नेछन् ।

त्यसभन्दा पछि प्लाइ र सिसाको बार राखिनेछ भने बारपछाडि सरकारी अधिकारी, दर्शक र पत्रकारका लागि ठाउँ छुट्टयाइएको छ । फरक–फरक कम्पनीले दुबै हलको मर्मत कार्य गरिरहेका छन् । अन्तर्राष्ट्रिय केन्द्रमा संसद सचिवालयकै मालीले फूल आयात थप साजसज्जा गरिरहेका छन् । देश विभिन्न शासन व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दासमेत संघीय संसदको आफ्नै भवन नहुँदा हरेकपटक भाडाको भवन सिँगारिरहनुपर्ने बाध्यता भने लाजमर्दो विषय हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);