देशको अर्थतन्त्रमा सुधारका संके ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

देशको अर्थतन्त्रमा सुधारका संके ( भिडियो रिपोर्ट )

लक्ष्मी प्रसाद न्यौपाने  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, फाल्गुन ३०।  विदेशी विनिमय सञ्चितीमा सुधार आएसँगै अर्थतन्त्रको बाह्य क्षेत्र तत्काललाई मजबुत देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिती र विप्रेषण आप्रवाहमा सुधार निरन्तर देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा छ । २०७८ असारमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर थियो । २०७९ असारमा मुलुकमा ९ अर्ब ५४ करोड डलर सञ्चिति रहेकामा अहिले १० अर्ब ५० करोड डलर पुगेको छ। यो वर्ष सात महिनामा डलरमा सञ्चिति ९६ करोडले बढेको हो । राष्ट्र बैंकको चालु आवको सात महिनाको आयातलाई आधार मान्दा ९.४ महिनाको वस्तु तथा सेवा र १०.८ महिनाको वस्तु आयात धान्न सञ्चिति पर्याप्त रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउनुहुन्छ । बाह्य क्षेत्रमा सुधार आउनुमा रेमिटेन्समा भएको वृद्धि र आयातमा आएको कमी मुख्य कारण देखिन्छ ।

बाह्य क्षेत्रमा देखिएको सुधारका कारण विदेशी विनिमय सञ्चिति मात्र नभई अरु सबै क्षेत्रमा पनि सुधारलाई कारण मानिएको छ । तर, आन्तरिक अर्थतन्त्रमा ठूलै हलचल छ। उद्दोगी व्यवसायी हतोत्साही छन् । उनीहरु सडकमै आउनुपर्ने वाध्यात्मक अवस्था छ । तैपनि, राष्ट्र बैंकले अर्थतन्त्रमा सुधारको तथ्यांकहरु सार्वजनिक गरेको छ । असार मसान्तको तुलनामा माघमा आउँदा डलर सञ्चिति १३.८ प्रतिशतले बढेको छ। बाह्य क्षेत्रमा सुधार ल्याउने मुख्य दुई क्षेत्रमध्ये रेमिटेन्स आय २७.१ प्रतिशतले बढेको छ । यो वर्षका सात महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिटेन्स आएको छ । रेमिटेन्सकै भरमा देशको अर्थतन्त्र धानिएको आर्थिक तथ्यांकले देखाएको ।

कुनैपनि देशको अर्थतन्त्रको दीगो प्रगतिका आधारहरु आन्तरिक उत्पादन, खपत र निर्यात नै हुन् । देशमा यी क्षेत्रहरुमा उत्साहप्रद प्रगति छैनन् । तथ्यांक अनुसार अहिलेसम्ममा ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष यो अवधिमा निर्यात ८८.३ प्रतिशतले बढेको थियो । आयात घटेको बेला निर्यात बढाउन सकेमा अर्थतन्त्रको बाह्य क्षेत्रमा अझ सुधार हुन्छ । तर, देश अझै आयातमुखी हुने र आयातमाथि बन्देज लगाउने अल्पकालीन कदमले अर्थतन्त्रको सुधारलाई पनि अल्पकालीन बनाउन पुग्छ। देशमा उत्पादनकर्ता, उद्दोगी, व्यवसायी उत्साही हुने अवस्था नबनेसम्म कडाई गरेर टारिएको अर्थतन्त्रको संकटले नयाँ संकट निम्त्याउन सक्छ । यसमा जिम्मेवार निकाय बेलैमा सतर्क हुन जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);