मुलुकको अर्थतन्त्रको वर्तमान परिदृश्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मुलुकको अर्थतन्त्रको वर्तमान परिदृश्य

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्या र चुनौतिकाबीच पनि आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् ।

बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको नौ महिनामा प्रायः सबै सूचकहरु सकारात्मक देखिएको हो । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकुचनमा गएर मन्दितर्फ उन्मुख हुन लागेको विश्लेषण हुन थालेको छ । यता, राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण २.१६ प्रतिशतमा सिमित हुने देखिएको छ । तर सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो । सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पछिल्लो समय उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले अर्थतन्त्र ऋणात्मक हुने अवस्था आएको देखिएको छ । तर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तिय परिसूचकहरु सकारात्मक रहेका छन् । राष्ट्र बैंकको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा नीतिगत व्यवस्था स्थिर र क्षेत्रगत सबलिकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा वाह्य क्षेत्र,रेमिट्यान्समा समेत नकारात्मक भएपनि चालु आर्थिक वर्ष नौ महिनामा अर्थतन्त्रको वाह्य क्षेत्र निरन्तर रुपमा सुधार हुँदै गएको छ । गत फागुनको तुलनामा विदेशी विनिमय सञ्चिति २५ करोड अमेरिकी डलरले सुधार भएको छ । गत फागुनसम्म १० अर्ब ६९ करोड डलर सञ्चिति रहेकोमा चैत मसान्तमा १० अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । चालू आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । आयात निर्यात दुवै खुम्चिएको स्थितिमा रेमिट्यान्सका कारण विदेशी विनिमय सञ्चिति बढेको देखिन्छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा ९ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपालमा भित्रिएको छ । राष्ट्र बैंकका अनुसार नौ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ । चैत महिनामा चालु आर्थिक वर्षकै सबभन्दा धेरै रेमिटेन्स भित्रिएको छ । चैतमा मात्र एक खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स शुन्य दशमलव २ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा सोही अवधिमा रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.५ प्रतिशतले बढेर ३ लाख ८७ हजार ८ सय ३९ पुगेको राष्ट्र बैंकले बताएको छ । त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा भने यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो। यसरी वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै रेमिट्यान्स पठाउने दरमा पनि वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्ष २०७८÷७९ मा रेमिटेन्स भित्रिने दर घट्दा र आयात बढ्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा समेत ह्रास आएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षको चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत बिन्दु बढी हो । गत वर्ष चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११ प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मुद्रास्फीति छ । सोही अवधिको चैत महिनामा यी क्षेत्रमा क्रमशः ६.२५ प्रतिशत, ७.६१ प्रतिशत, ७.७९ प्रतिशत र ८.२५ प्रतिशत मुद्रास्फीति थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ । यो अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आई ५ अर्ब ९१ करोड कायम भएको छ ।

यस्तै, प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो । यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोडले वचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले वचतमा रहेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षको नौ महिनामा आयात र निर्यात दुवै चैतमा पनि घटेको छ । चैतमा १८.१ प्रतिशतले आयात र २६.३ प्रतिशतले निर्यात घट्दा कुल व्यापार घाटा १७.१ प्रतिशतले घट्न पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यातमा २६.३ प्रतिशतले कमी आएर १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ मात्रै कायम भएको छ । तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो । नौ महिनाको अवधिमा कुल वस्तु आयातमा पनि कमी आएको छ। यो अवधिमा कुल वस्तु आयातमा १८.१ प्रतिशतले कमी आएर १२ खर्ब १ अर्ब ५१ करोड कायम भएको छ । यो नौ महिनामा मासिक सरदर एक खर्ब ३३ अर्ब हाराहारीको आयात भइरहेको छ। मासिक रूपमा अधिकतम एक खर्ब ४३ अर्ब र न्युनतम एक खर्ब २६ अर्ब बराबरको आयात छ । तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। आयात र निर्यात दुवै घटेपनि रेमिट्यान्सका कारण नेपालको वित्तीय क्षेत्रमा निक्षेपको वृद्धिदर बढेको छ । चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ । निक्षेपको वृद्धि फागुनमा ५.५ प्रतिशत मात्रै थियो । उता निक्षेप वृद्धि बढेपनि निजी क्षेत्रमा प्रवाहित कर्जाको बिस्तार भने खुम्चिएको छ ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ चैतमा ७.०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ७.० प्रतिशत रहेको थियो। वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ चैतमा ९.१७ प्रतिशत रहेकोमा २०७९ चैतमा १०.४८ प्रतिशत कायम भएको छ । २०७९ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.२६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.८४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ७.११ प्रतिशत र १०.७८ प्रतिशत रहेका थिए ।

त्यस्तै,चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचाङ्क २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ । २०७९ चैत मसान्तमा धितोपत्र बजार पँुजीकरण २८१३ अर्ब ५५ करोड कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण ३४२६ अर्ब ११ करोड रहेको थियो । चैतमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । नेपाल स्टक एक्सचेन्जमा २०७९ चैत मसान्तमा सूचिकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य ७०९ अर्ब २७ करोड रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);