काठमाडौं, २९ फागुन । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल सफल रहेको बताएका छन् । भण्डारी आज ५ वर्षे दोस्रो कार्यकाल सकाएर शितलनिवासबाट बाहिरिदै दिन राउतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू ७ वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।’–उनले लेखेका छन् ।
राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत भएको उल्लेख गर्दै डा.राउतले एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति, त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा भएको पनि उनको भनाइ छ ।
उनले लेखेका छन्,‘यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अझ हामी जस्ता साधारण गरीब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ।’
राष्ट्रपति भण्डारीलेबोलाएको चियापानमा सहभागी हुन नसकेको पनि उनले स्पष्ट पारेका छन् ।साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।