काठमाडौं, २१ फागुन । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैं छन् । गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले विश्वासको मत लिने उद्देश्यले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सामाजिक सञ्जालमार्फत दलहरुसँग लिखित हस्ताक्षर नभए विश्वासको मत नदिने उल्लेख गरेकी छिन् । सुदुरमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टी र सत्ता साझेदार दल नेकपा माओवादीले मत नदिए शाह आज विश्वासको मत लिन असफल हुनेछन् ।
सभामुख सहित ११ सदस्य रहेको सो प्रदेशमा शाहलाई माओवादी भित्र पनि मत दिने/नदिने विषयमा तिव्र विवाद उत्पन्न भएको छ । माओवादी संसदीय दलका नेता खगराज भट्टले शाहलाई विश्वासको मत नदिने निर्णय गरेको शनिबार प्रतिक्रिया दिन भ्याए । तर उनको सो प्रतिक्रियापछि माओवादीकै सांसद ओम विक्रम भाट सरलले सो निर्णय नभएको सामाजिक सञ्जालमार्फत दिएका थिए । भाटले पार्टीको लाइन र नेतृत्वलाई अप्ठ्यारो पर्ने कार्य गर्न आफूहरुबाट नहुने भन्दै त्यस्ताकाम कल्पना समेत गर्न नसक्ने स्पष्ट पारेका थिए । नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका शाह नियुक्त भएका थिए ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । सोही प्रावधान अनुसार शाहले आज विश्वासको मत लिन लागेका हुन् । सुदुरपश्चिममा कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने अवस्थामा शाहले दुई तिहाइ मत पाउन सक्छन् ।