बालकोटको बार्दलीबाट हात हल्लाउँदै शुरु भएको गठबन्धन दुई महिनामै तुहियो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

बालकोटको बार्दलीबाट हात हल्लाउँदै शुरु भएको गठबन्धन दुई महिनामै तुहियो

काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटको बार्दलीबाट हात हल्लाउँदै शुरु भएको नयाँ गठबन्धनको दुई महिनामै अन्त्य भएको छ । नेपाली कांग्रेसको नेतृत्वको पाँच दलिय गठबन्धनलाई तोडेर पुष्पकमल दाहाल प्रचण्ड एमालेसहितको सात दलिय नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

एमाले र माओवादीबीच ५ वर्षे कार्यकाल आलोपालो चलाउने सहमति भएपनि दाहालले ओलीसँगको सहमति तोड्दै पुनः कांग्रेससहितको पुरानै दलहरुसँग नयाँ गठबन्धन गरेका छन् । सत्तासाझेदार दलहरुसँग कुरा नमिल्दा सरकार र विपक्षी दलहरुको नयाँ समिकरण बन्न पुगेको छ ।

माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने अडान लिएसँगै एमाले चिडिदै गएको हो । एमालेले भने नयाँ सरकार गठनको सहमतिअनुसार राष्ट्रपति आफुले पाउनुपर्ने दाबी छाडेन । माओवादीले साझा व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे एमाले बाधक भएको आरोप लगाएको छ ।

नयाँ गठबन्धनलाई कायम राख्दै बाहिरका दलहरुको समर्थनमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउने पक्षमा भएपनि एमालेले सो प्रस्ताव अस्वीकार गरेको जनार्दन शर्माको भनाइ छ । एमालेलाई माओवादीले धोका दिएको एमाले नेताहरुको आरोप छ । प्रचण्ड सरकारलाई विश्वासको मत दिएर ढोक्सा थापेको ओलीले आरोप लगाएका थिए । त्यतिबेलादेखि नै राष्ट्रपति निर्वाचनको नयाँ राजनीतिक कोर्स शुरु भएको राजनीतिक विश्लेषक शंकर तिवारी बताउनुहुन्छ ।

दुई महिनाअघि एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहित सात दलको गठबन्धन बनाउँदा एमालेलाई राष्ट्रपति र सभामुख, माओवादीलाई प्रधानमन्त्री, रास्वपालाई उपसभामुख र उपप्रधान तथा गृहसहितका मन्त्रालय, राप्रपालाई उपप्रधानसहित मन्त्रालय लेनदेनमा सहमति भएको एमालेले दाबी गर्दै आएको छ । यद्यपी प्रधानमन्त्री दाहालले भने राष्ट्रपतिमा कसैसँग सहमति नभएको बताउँदै आएका थिए ।

रवि लामिछाने नेतृत्वको रास्वपा यस अघि नै सरकारबाट बाहिरिसकेको थियो । सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पदसमेत नरहने गरि खारेज गरेपछि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । गठबन्धन तोडिएसँगै राप्रपाका मन्त्रीहरुले शनिबार नै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाइसकेका छन् ।

शनिबार नयाँ आठ दलिय गठबन्धनको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेका छन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहेका छन्। त्यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);