काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई भोट दिन आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालाई पत्र पठाउनु भएको छ ।
एमालेको तर्फबाट उपाध्यक्ष नेम्वाङले राष्ट्रपतिको उम्मेदवारी दर्ता गरेसँगै अध्यक्ष ओलीले भोट मागेर पत्र पठाउनु भएको हो । पत्रमा अध्यक्ष ओलीले नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराउनु भएको छ ।
नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदलाई योग्य एवं उपयुक्त उम्मेदवार रहेको बताउँदै उहाँले नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष ओलीले कांग्रेस बाहेकका अन्य दलका प्रमुखलाई सम्बोधन गर्दै नेम्वाङ्गलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गर्दै पत्र लेख्नु भएको छ ।
मनोनयन दर्ता गर्नुअघि ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले कांग्रेसबाहेक सबै दललाई भोट माग्न पत्र लेख्ने निर्णय गरेको थियो ।





