काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभएको छ ।
मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभएको हो । उहाँले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले देशभित्र र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका भन्दै त्यसलाई रोक्न खोज्दा एमालेमाथि प्रहार हुनसक्ने उल्लेख गर्नुभयो । राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनु भयो । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभने पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उहाँको टिप्पणी थियो ।