काठमाडौं, २ फागुन । सरकार गठन भएको दुई महिना नबित्दै धरमराउन थालेको छ । संकेतहरु त देखिएकै थिए तर मङ्गलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्न सक्ने टिप्पणी गरे ।
ओलीले अनेरास्ववियूको अधिवेशन उद्घाटन गर्दै अहिलेको संसदको बनावट नै अस्थिरता ल्याउने बनावट भएको बताए । उनले कसैको पनि बहुमत नभएको र देशभित्र र बाहिरका शक्तिहरु अस्थिरता बढाउन लागेको आरोप लगाए । उनले कसैको नाम उल्लेख गरेनन् । पछिल्लो समय नेपालमा अमेरिकी र भारतीय अधिकारीहरुको सक्रियता बढिरहँदा ओलीको अभिव्यक्ति आएको हो ।
राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डसँग ओलीको मतभेद बढ्दै गएको छ । ओलीनिकटस्थहरु प्रचण्डको शैलीविरुद्ध बोल्न थालिसकेका छन् । यसले नयाँ राजनीतिक सम्भावनाको संकेत देखाउँदै लगेको छ ।
प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहेका छन् । ओली आफूले भनेबमोजिम हुनुपर्ने विगतको भद्र सहमति सम्झाउँदै छन् । यसले पनि समस्या गरिरिदै गएको छ ।




