काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन व्यवस्थित र मर्यादित बनाउन ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । विश्वविद्यालयका शिक्षाध्यक्ष डा. शिवलाल भुसालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सहसंयोजक त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहाल र समितिका सदस्यसचिवमा त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी रहनुभएको छ । समितिले निर्वाचन आचारसंहिता बनाउने, निर्देशिका तथा कार्यविधि बनाउने सदस्य—सचिव अधिकारीले जानकारी दिनुभयो ।
त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको छ । त्रिविले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ ।