काठमाडाैं । कृषि तथा हल्टिकल्चर व्यवसायको प्रवर्द्धनका लागि सरकारले निःशुल्क प्रदर्शनी स्थलको व्यवस्था गर्नुपर्ने व्यवासायीहरुले माग गरेका छन् । भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पोमा सहभागी व्यवसायीहरुले सरकारसँग यस्ताे माग गरेका हुन् ।
नर्सरी व्यवसायी संघ, नेपालका पूर्वअध्यक्ष कुमार कसजूले मेला तथा प्रदर्शनी गर्नको लागि सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गरेर कृषि तथा हल्टिकल्चर उत्पादनको प्रदर्शनी निःशुल्क गर्न दिनुपर्ने बताउनुभयो । हाल नेपालमा ठूला मेला गर्नका लागि ठाउँको अभाव रहेको उहाँको भनाइ छ ।
उहाँले हाल दैनिक ७५ हजार रुपैयाँ चौरको मात्रै भाडा बुझाएर मेला आयोजना गरेको जानकारी दिनुभयो । उहाँले मेला महोत्सव आयोजना गर्ने व्यवस्था सरकारले नै गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीहरुको उत्पादनको बजारीकरण गर्ने काम सरकारको दायित्व भएको उहाँको भनाइ छ । उहाँले प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई पटकपटक ध्यानकर्ष गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । नयाँ सरकारले यसतर्फ ध्यान दिने उहाँको विश्वास छ ।
उहाँले उद्यमी तथा व्यवसायीहरुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लागि एक्स्पोको महत्व वृद्धि हुँदै गएको बताउनुभयो । हर्टिकल्चर एक्स्पोले पछिल्लो समयमा कृषिमा पलायन हुँदै गएको जनशक्तिलाई पुनः फर्काउनको लागि सहयोग गरेको दाबी गनुृभयो । पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने पनि उहाँको भनाइ छ । यद्यपि हर्टिकल्चर व्यवसायलाई आमनागरिकसँग भने जोड्न नसकेको उहाँले स्वीकार गर्नुभयो । हर्टिकल्चर व्यवसाय धनाढ्यहरुको लागि मात्रै हो भन्ने भाष्य चिर्न नसकिएको उहाँको भनाइ छ । उहाँले यसलाई आमउपभोक्तासँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले पुष्प व्यवसायलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
भृकुटीमण्डपमा बिहीबारदेखि नेशनल हर्टिकल्चर एक्स्पो भइरहेको छ । शनिवारसम्म उपभोक्ताहरुको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५५ हजार बढीले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको पूर्वअध्यक्ष कसजूले बताउनुभयो । उहाँका अनुसार एक्स्पोमा प्रतिगोटा ४० रुपैयाँदेखि लिएर एक लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने विरुवा किनबेच भईरहको छ । मेलामा ६५ वटा स्टल रहेका छन् । तीमध्ये वनस्पति विभाग, पुष्प विकास केन्द्र र जडिबुटी प्रशोधन केन्द्रको एक/एक वटा सरकारी स्टल रहेका छन् भने बाँकी निजी क्षेत्रका रहेका छन् । एक्स्पो चैत २३ गतेसम्म चल्नेछ ।
तस्बिर : एआई





