सदनमा मन्त्रीहरुको विषयमा प्रश्न उठ्न थाल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सदनमा मन्त्रीहरुको विषयमा प्रश्न उठ्न थाल्यो

काठमाडौं, ८ माघ । प्रतिनिधिसभा संसद्मा वर्तमान सरकारको आलोचना शुरू भएको छ । सरकारले पूर्णता पाएको एक हप्ता नबित्दै सदनमा सांसदहरूले सरकारमा सहभागी मन्त्रीहरू र उनीहरूका गतिविधिका विषयमा प्रश्न उठाउन थालेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत सात दलीय गठबन्धन सरकारमा विवादित छवि बनाएका सांसदहरू मन्त्री बनेका र उनीहरूले सम्बन्धित क्षेत्रका अनियमितताको ढाकछोप गर्ने सांसदहरूले आरोप लगाएका छन् ।

शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको पासपोर्ट छानबिनको विषयलाई संसद्मा उठाउनुभएको छ । नागरिकता छानबिन भइरहेका सांसद लामिछानेले आफ्नो कमजोरी ढाकछोप गर्न गृहमन्त्री रोजेर गठबन्धन सरकारमा गएको बताउनुभयो । उहाँले लामिछानेको पासपोर्ट र नागरिकता छानबिनको विषयलाई संसद्लाई जानकारी गराउन रुलिङ गर्न सभामुखसमक्ष आग्रहसमेत गर्नुभयो ।

त्यस्तै, व्यक्ति हत्या आरोपित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको विषयमा सरकारप्रति प्रश्न सांसदहरूले प्रश्न उठाएका छन् । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसद कोइरीलाई पक्राउ गर्न अदालतले आदेश दिए पनि सरकारबाटै संरक्षण भएको उनीहरूले आरोप लगाए ।

प्रतिपक्षी बेन्चमा रहेका सांसदहरूले उक्त विषयमा प्रश्न उठाइरहँदा सरकारमा सहभागी हुनु अघिसम्म चर्को विरोध गर्ने नयाँ सांसदहरूले गलत प्रवृत्तिको खण्डन गर्न सकेनन् । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित नेकपा एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयबाट पत्र जारी भएकोमा सो परिपाटी गलत भएको भन्दै आपत्ति जनाउनुभयो । सांसद खतिवडाले ‘नेपालको प्रहरी प्रशासनले गृहमन्त्रीलाई टेर्न छाडेको हो ?’ भन्दै प्रश्नसमेत गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा यसबारे गृहमन्त्रीसँग जवाफ माग गर्दै खतिवडाले भन्नुभयो– ‘गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको छ । नेपालको इतिहासमा अपराधीलाई प्रेस विज्ञप्ति निकालेर खोज्न जाने परम्पराको सुरुआत भएको छ । प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटी शुरू भयो भने देश कहाँ जाने हो ? बडा चिन्ताको विषय भयो ।’

उहाँले गृहमन्त्री रवि लामिछानेले केटाकेटीपनको प्रदर्शन गरेको जिकिर गर्दै प्रश्न गर्नुभयो– ‘के गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्परा शुरू भएको हो ? के अझै पनि जनतालाई ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ? यसरी अपराधी पक्रन सकिन्छ ? यसरी सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो ?’
संसद्मा विश्वासको मत दिँदा सांसद कोइरी उपस्थित भएको तर उनलाई पक्राउ गर्न नसकिएको स्मरण गराउँदै खतिवडाले मान्छे पक्रन आँट नगर्ने अनि सूचना जारी गर्ने भन्दै गृहमन्त्रीको आलोचना गर्नुभयो । उहाँले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँट्ने, छल्ने काम नगर्नसमेत सचेत गराउनुभयो ।

त्यस्तै, अदालतले पक्राउ गर्नु भनेकाहरूलाई नै खुलेआम छाडेर नतदेखेजस्तो गर्नु सरकारकै संरक्षण हो की भन्ने शंका उब्जिएको नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले बताउनुभयो । ‘हिजो देशमा कानुनी राज्यको कुरा सडकबाट ओकल्नेहरू सत्तामा पुगेपछि तैं चुप मै चुप भएका छन्’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वर्तमान सरकारमा आर्थिक अनियमितताको छवि बनाएका देखि नागरिकता विवाद र मेनपावर मालिकसमेतको सहभागिता रहेको सर्वत्र चर्चा छ ।’ के यो नै हो त सुशासन ? केसीले सरकारप्रति प्रश्न गर्नुभयो । सरकारको कामका आधारमा प्रतिपक्षी दल प्रस्तुत हुने भन्दै केसीले प्रारम्भमै धेरै विरोध नगर्ने बताउनुभयो ।
वर्तमान सरकारका गतिविधिले कानुनी राज्यको प्रत्याभूति दिलाउन नसक्ने संकेत देखिन थालेको नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो । एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सन्दर्भमा गृहमन्त्रीको केवल निर्देशनका लागि निर्देशन मात्रै भएको टिप्पणी गर्नुभयो ।

गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेन्ट जारी भइसकेका महोत्तरीका सङ्घीय सांसद लक्ष्मी कोइरी अहिले निर्वाध रूपमा नियमित काम गरिरहनुभएको छ ।

संसद् महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिँडडुल गरेर चुनौती दिइरहँदा समेत गृहमन्त्रीले देखिँन भन्ने जवाफ दिनुभएको छ । शपथ ग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ नसकेकोप्रति सांसदहरूले सरकारको आलोचना गरेका छन् ।

मधेस आन्दोलनको समयमा लखेटी–लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ । उच्च अदालत जनपुरले २०७७ मा महतोलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

२०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्रनम्बर १ बाट नेकपा एमालेबाट टिकट पाउनुभएको थियो । वारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा गएका महतोले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझ्नुभएका महतो प्रहरीको आँखा छल्दै शपथ ग्रहण लिनसमेत सफल हुनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद् टेकबहादुर गुरुङ र महतोलाई संसदीय गतिविधिमा सङ्लन नगराउन पत्राचार गरे पनि कोइरीलाई भने निरन्तर सङ्लग्न गराउँदै आइएको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);