दीपेश केसी/माउण्टेन टेलिभिजन । पृथ्वीनारायण शाह इशाई धर्मालम्बी र पादरीप्रति कठोर बन्नुभयो । उहाँले धर्म प्रचार र धर्मान्तरणलाई कडाईका साथ रोक्नुभयो । यसकारण पनि उहाँप्रति इशाई धर्मालम्बीहरु जहिले पनि नकारात्मक बन्नुभयो । कीर्तिपुरेको १६ धार्नी नाक काटेको कथा बुने । जयप्रकाश मल्लले इशाई पादरी र धर्मालम्बीहरुलाई निकै महत्व दिएकोमा पृथ्वीनारायण शाह ठिक विपरित रुपमा प्रस्तुत हुनुभयो ।
डा. जगमान गुरुङ समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह पुस्तकमा प्रकाशित आफ्नो लेख पृथ्वीनारायण शाह, नेपालको एकीकरण र राष्ट्रिय एकतामा नेपाल त्यतिबेला चौवन्न टुक्रामा विभाजित भएको उल्लेख गर्नुहुन्छ । पूर्वमध्यकालमै नेपाल उपत्यका जर्जर भइसकेको र शासकहरु एक समूहले अर्को समूहलाई दमन गर्न एकथरीले जुम्लाका खसलाई र एक थरीले सिम्रौनगढका डोयहरुलाई झिकाउने गरेको लेख्नुहुन्छ । डा. गुरुङ लेख्नुहुन्छः पृथ्वीनारायण शाहको समयताका अघि नेपाल तराईमा विकसित मिथिला र कपिलवस्तुको प्राचीन गौरव गाथा लोप भइसकेको थियो । सिम्रौनगढको पतन भइ सकेको थियो । थारु राजा दङ्गी शरणको कथा मात्र बाँकी थियो । त्यस कारण त्यस वेला नेपाल तराईमा कुनै स्वतन्त्र राज्य थिएनन् । केवल जमिनदारी मात्र थिए । त्यस बेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अंग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाई पादरीहरु आएर बसिसकेका थिए । तिनीहरुले नेपालीहरुलाई पनि इसाई बनाएका थिए ।
सिल्भाँ लेभीको पुस्तक नेपालः हिन्दू अधिराज्यको इतिहास पहिलो खण्डमा लेखिएको छः अंग्रेजहरुको नेपालमाथि हस्तक्षेप र मेजर किनलोकको नेतृत्वमा नेपालमा फौज पठाएको कारणले गर्दा गोरखा राजाको मिसनरीप्रतिको विचार बदलियो । गोरखाले सबै युरोपेलीहरुलाई शंकाले हेर्न थाले । पृथ्वीनारायण सिंगो नेपालका राजा भएपछि सन् १७६९ मा क्यापुचिनहरुलाई आफ्ना अनुयायीहरुलाई पनि लिएर नेपाल छोडी बाहिर जाने आदेश दिए ।
डा. जगमान गुरुङ लेख्नुहुन्छः जयप्रकाश मल्लले आफ्नो सहयोगका लागि अंग्रेजलाई गुहारेका थिए । अंग्रेजले त्यही मौका खोजी रहेका थिए तर पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमानलाई सिन्धुलीगढीबाट माथि आउन दिएनन् । नागा जोगीहरु अंग्रेजका हरिद्वारदेखि कलकत्ताको दिनाथपुरसम्म खोलिएका व्यापारी कोठीहरुमा लुटपाट मच्चाएर नेपालको जंगलमा आएर लुक्थे । जयप्रकाश मल्लले ती नागा जोगीहरुलाई पनि गुहारेका थिए तर तिनलाई पनि पृथ्वीनारायण शाहले साँगा भञ्ज्याङबाट भित्र आउन दिएनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छः जयप्रकाश मल्लका मतलबलाई दक्षिणबाट नागा झिकाइए र नेपालभित्र पस्न नदिई सातगाउँभित्रैमा भिजाइदिएँ ।
डा. जगमान गुरुङ लेख्नुहुन्छः पृथ्वीनारायण शाहले नेपाल आएका इसाई पादरी तथा तिनले ईसाई बनाएका नेपालीहरुलाई देश निकाला गरिदिएका थिए । यसरी नेपालबाट निष्कासित इसाई पादरी तथा तिनले इसाई बनाएका नेपालीहरु बेतिया र दार्जिलिङमा बस्न गए । पृथ्वीनारायण शाह ब्रिटिस उपनिवेशवादको विरोधी तथा आफ्नो मुलुकबाट इसाईहरुलाई निष्काशन गर्ने अभियानका अभियन्ता पनि पृथ्वीनारायण शाह नै थिए ।
डा. रमेश ढुंगेलले पनि इशाई पादरीप्रति पृथ्वीनारायण शाह कठोर बनेको उल्लेख गर्नुभएको छ । उहाँले पृथ्वीनारायण शाह धर्मान्तरण रोक्न लाग्नुभएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाहका बारेमा क्रिकप्याट्रिकले एन एकाउन्ट अफ द किङ्गडम अफ नेपाउलमा पृथ्वीनारायण शाहलाई छलपूर्ण चतु¥याईँ गर्ने तर बुद्धिमतापूर्ण कार्य गरेका राजा भन्नुभएको छ । एफ.बी. हेमिल्टन एन उकाउन्ट अफ द किङडम अफ नेपालमा लेख्नुहुन्छः पृथ्वीनारायण शाह सन्तोष नलिने महत्वाकांक्षी, स्पष्ट न्यायी, दृढ साहसी र निरन्तर कर्मठ, दयालु र उदार व्यक्ति थिए ।
योगी नरहरिनाथले संकलन गर्नुभएको पृथ्वीनारायण शाहको दिव्यउपदेशमा भनिएको छः उप्रान्त । यो राजे दुई ढुङ्गा को तरुल जस्तो रहेछ । चीन बादशाह सित ठूलो घाहा राखनु । दुषितको समुन्द्रका बादसाह सिट घाहा ता राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थाना दबाई राखेछ । दिनेशराज पन्त आफ्नो पुस्तक श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनीमा दिव्योपदेशको मूलपाठलाई यसरी लेख्नुहुन्छः दख्खिनका समुद्रका बादशाहसित घा ता राख्नू, तर त्यो महाचतुर छ, हिन्दुस्थान दबाइराखेछ, सरजमीनमा परिरहेछ । हिन्दुस्थान जम्यो भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । सन्धिसर्पन हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजा हालिराख्नू । एक दिन त्यो बल आउनेछ ।
यही विषयलाई रामनारायण देवले राष्ट्रियता, सामाजिक र सांस्कृतिक एकताका प्रवर्तक पृथ्वीनारायण शाहमा लेख्नुभएको छः चीनको शासकसित शंका राख्नु तर दक्षिणको अंग्रेज शासकसित बढी आशंका राख्नु किनभने त्यो महाचतुर छ । पृथ्वीनारायण शाहले जाइकटक नगर्नु झिकि कटक गर्नु अर्थात् कसैमाथि पहिला आक्रमण नगर्नु र कसैले आक्रमण गर्न आएमा पनि प्रत्याक्रमण गर्न पनि नछाड्नु भनी उपदेश दिनुभएको छ ।
डा. तुलसीराम वैद्य समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह पुस्तकमा प्रकाशित आफ्नो लेख पृथ्वीनारायण शाहः राष्ट्र निर्माणका अभियन्तामा लेख्नुहुन्छः असी प्रतिशतभन्दा बढी जनता हिन्दूहरु भएको देशलाई हिन्दू राष्ट्र भन्नु गलत होइन । चार्तुयताका साथ नेपाल एकीकरण गर्नुभएका पृथ्वीनारायण शाह इशाईप्रति कठोर बन्नुभएको थियो । उहाँले नेपाललाई असली हिन्दूस्थान भन्नुभयो । सबै जातको साझा फूलबारी भन्नुभयो । बौद्ध र मुसलमानहरुलाई सहज रुपमा लिनुभयो । तर, इशाईप्रति उहाँको कठोर व्यवहार देखियो । पृथ्वीनारायण शाह पश्चिमाहरुको विस्तारप्रति शतर्क हुनुभयो । यसलाई रोक्न उहाँले आँट गरेर एकीकरणको अभियान नै चलाउनुभयो ।