काठमाडौं, ११ पुष ,विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले भन्नुभयो , ‘विश्व सम्पदा सूचीमा रहेको र श्रद्धालुलाई सहजरुपमा दर्शनको व्यवस्था गर्नलाई पनि यो आवश्यक देखियो ।’
यसअघि पशुपतिको पश्चिम र दक्षिण ढोकासम्मै गाडीहरु आउने जाने गर्न पाउँथे । यसबाट भक्तजनहरुलाई हिँडडुलमा अप्ठेरो हुने गरेको थियो ।
‘मानिसहरु आध्यात्मिक चिन्तनको हिसाबले जाने भएकाले त्यहाँ अनावश्यक गाडीहरु लिएर जाँदा समस्या देखियो,’ डीएसपी मरासिनीले भने, ‘अब मन्दिर परिसरमा स्वच्छ, सफा र भक्तजनहरुलाई पनि सहज हुने विश्वास लिएका छौं ।’
यसअघि शिवरात्री, तीज, बालाचतुर्दशीजस्ता ठूला चाडपर्वहरुमा मात्र पशुपतिनाथ मन्दिर वरपर सवारी साधन लैजान पाइँदैनथ्यो । अब भने सधैंका लागि पशुपति क्षेत्रलाई सवारी मुक्त गराइएको छ ।
प्रवक्ता मरासिनीका अनुसार शव बाहन र एम्बुलेन्सलाई भने पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छैन । पशुपति आर्यघाटमा दर्जनौं शव दाह हुने भएकाले शव बाहनलाई भने भित्रैसम्म आउन-जान दिइने छ ।
पशुपति क्षेत्र वरपर घर भएकाहरुले भने आफ्नो घरसम्म गाडी लैजान सक्नेछन् । त्यसको लागि पास लिनुपर्ने छ ।
मरासिनीका अनुसार मंगलबारबाटै बनकाली र उमाकुण्डभन्दा भित्र गाडीहरु लैजान दिइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीकाअनुसार गाडी पार्किङको लागि बनकालीको चौर र उमाकुण्डमा ठूलो स्थान छुट्याइएको छ ।
ट्राफिक प्रहरीले आवत-जावतलाई व्यवस्थित बनाउन वान-वेको पनि व्यवस्था गरेको छ । गौशाला प्रहरी कार्यालयको छेउँबाट बनकालीतर्फ तल जान पाइए पनि फेरि त्यही बाटो हुँदै फर्किन भने पाइने छैन ।
फर्किनका लागि सुमार्गी भवन (चारमूर्ति)तर्फको बाटो प्रयोग गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता डीएसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।