काठमाडौं, २८ पौष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका कारण गौतम निर्विरोध निर्वाचित भएका हुन् ।
आज बिहान ११ बजे बसेको प्रदेश सभा बैठकले गौतम निर्वाचित भएको घोषणा गरेको हो । गौतमले आज नै पद तथा गोपनियताको शपथ लिने जनाइएको छ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । उनी ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतमको माओवादी जनयुद्धमा योगदान रहेको छ ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । गठबन्धनबीचको भागबन्डामा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।