काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलको अवलोकन गर्नेभएकी छिन् । राष्ट्रपति भण्डारी आज बिहान १० बजे समाधिस्थलको भ्रमण गर्न जाने बताइएको छ ।
सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ ।
दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गरेका थिए ।
काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।