काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
पुस २५ गते संसद् अधिवेशन बोलाइएको र २६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यक्रम रहेकाले कांग्रेसले आज आवश्यक रणनीति लिन संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने वा नदिनेलगायत विविध विषयमा छलफल भइरहेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ प्रारम्भ हुँदैछ ।
प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ । कांग्रेसले पुस २८ गते केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।