प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम, विद्यार्थी समस्यामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम, विद्यार्थी समस्यामा

बुटवल । लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ । गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ ।

दुई वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो ।

राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो । गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ ।

व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका छन् । राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताए । “झण्डै तीन वर्ष त्यहाँ बसियो । अहिले यता आइएको छ । सबै संरचना बनिसकेको छैन”– उनले भने, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो । त्यसै आधारमा हामीले प्राक्टिकल गथ्र्यौँ । अब प्राक्टिकल गर्न समस्या छ ।”

लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो । अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ । लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ । सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ ।

यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् । राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन् ।

“राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो । सुरुमा त स्कुल बसमा आउने जाने गथ्र्यौँ, अहिले यतै बस्न थालेका हौं”– उनले भनिन् “उताभन्दा यता बसाइ अलि असजिलो छ । कोठाका साइज उता भन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो ।”

लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताए ।

“कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ । केही मिलाउन बाँकी छ । आउनेबित्तिकै प्रयोगात्मकको लागि वर्कशप र क्वार्टर अपुग थियो”– उनले भने, “वर्कशप लगभग बनिसकेको छ । क्वार्टर बन्ने क्रममा छ । व्यवस्थित गर्न समय लाग्ला ।”

डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताउनुभयो । २०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन् ।

शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन् । जसमध्ये ६ वटा डिप्लोमाका र तीनवटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए ।

राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो । शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ । गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ । अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघीय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ ।

विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ । सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ । स्थायी भवन निर्माण पनि सुरु भएको छ । शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);