रवि उपप्रधानमन्त्री भएपछि ‘सिनियर’ नेताहरु नैतिक संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रवि उपप्रधानमन्त्री भएपछि ‘सिनियर’ नेताहरु नैतिक संकटमा

माउण्टेन टेलिभिजन/ काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वमा गठित सरकारमा पुराना दलका ‘सिनियर’ नेतालाई मन्त्री बन्न नैतिक संकट देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका कारण माओवादी केन्द्र र एमालेका सिनियर नेताहरूलाई मन्त्रीको हैसियतमा सरकारमा सामेल हुन अप्ठ्यारो देखिएको हो । मन्त्रिपरिषद् गठनका क्रममा एमालेले पहिलो चरणमा पठाएका चार जनामध्ये विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थ मन्त्री नियुक्त हुनुभएको छ । उहाँबाहेक अन्य तीन जना पार्टीभित्र सरकारमा अनुभवी होइनन् । ज्वाला साह, दामोदर भण्डारी र राजेन्द्र कुमार राईलाई एमालेले मन्त्री बनाएको छ । तीमध्ये ज्वाला यसअघि केपी ओली नेतृत्वको सरकारमा केही दिन मन्त्री हुनुभएको थियो । अन्य दुई भने सरकारमा नयाँ अनुहार हुन् ।

एमालेभित्र मन्त्री बन्नका लागि पूर्वमन्त्रीहरु आकाँक्षी रहे पनि मन्त्रिपरिषदमा रवि लामिछानेको ‘जुनियर’ भएर बस्न नैतिक रूपमा कठिनाइ भएको पूर्वमन्त्रीहरु बताउँछन् । एमालेमा यसअघि मन्त्री भइसकेकामा कृष्ण गोपाल श्रेष्ठ, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विस्ट, भीम आचार्य, टोपबहादुर रायमाझी, बसन्त नेम्वाङ लगायत छन् । उनीहरूमध्ये अहिले सरकारमा सामेल हुने हो भने वरीयतामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेभन्दा तल बस्नुपर्ने हुन्छ । उता, माओवादी केन्द्रमा पनि वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत लगायतका नेताहरू यसअघि मन्त्री भइसकेका छन् । उनीहरुमध्येबाट फेरि मन्त्री बन्न नैतिक सङ्कट सिर्जना हुने देखिएको छ ।

सरकारलाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि सरकारमा जाने सवालमा यस्तै नैतिक सङ्कट देखिएपछि सरकार बाहिरै बस्ने मत प्रकट भइरहेको छ । राप्रपामा पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ लगायतका नेताहरू यसअघि नै पटक पटक मन्त्री भइसकेका छन् । यीमध्ये कसैले पनि रवि लामिछानेको वरीयताभन्दा तल रहेर सरकारमा सामेल हुन इच्छा जनाएका छैनन् । सत्तारुढ गठबन्धनभित्र एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलबाट ‘सिनियर’ नेता तथा यसअघि मन्त्री भइसकेकाहरूले वरीयतालाई आधार मानेर मन्त्री हुन अस्वीकार गरेमा मन्त्रिपरिषदमा नयाँ अनुहारले प्राथमिकता पाउने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);