काठमाडौं, ९ पुष । माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने माओवादी नेता कृष्णबहादुर महरा बताएका छन् ।
दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आइतबार बिहान मतदाता भेटघाट कार्यक्रममा एकता पछि प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक-फरक व्यक्ति हुने पनि स्पष्ट पारे ।
एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने अभिव्यक्ति दिएको बेला महराले भने प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक हुने बताएका हुन् ।
उनले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने पनि बताए ।अहिलेसम्म आफुले राजनीतिमा हार व्यहोर्नु नपरेको भन्दै, यसपटक पनि दाङलाई राजधानी बनाउने कुरामा विजयी हुने दावी गरेका छन् ।
भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ ।