बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्री खाणको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्री खाणको आग्रह

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् ।

बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे । ’ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,’ उनले भने ।

उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गरे । ’बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि व्याजदर घटाउनु जरुरी छ,’ उनले भने ।

कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । उनले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताए । ’सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,’ उनले भने ।

अब छिटै नयाँ सरकार बन्ने भन्दै उनले अवको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताए । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उनले विश्वास व्यक्त गरे । बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);