काठमाडौं । मेलम्ची खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्यो । यो बीचमा थुपै्र दलहरु सरकारमा पुगे तर कुनैपनि सरकारले प्राथमिकता दिएनन । जसका कारण लागत बढेर ६० अर्ब रुपैयाँ पुगिसक्यो । तर काठमाडौंवासीले मेलम्चीको पानी सहज रुपमा उपभोग गर्न पाएका छैनन् । उपत्यकावासीले पानी नियमितरुपमा कहिलेबाट पिउन पाउँछन् भन्ने जवाफ सरकारसँग छैन ।
मेलम्चीको पानी काठमाडैंमा झार्ने योजनाभन्दा पनि उद्घाटन र जस लिने होडमा नेतादेखि मन्त्रीसम्म लाग्दासमेत उपत्यकावासीले भने अहिलेसम्म सहज रुपमा पानी पिउन पाएका छैनन । आयोजना अध्ययनको ३४ वर्ष र निर्माण सुरु गरेको २२ वर्ष वित्दा पनि विभिन्न सरकारका प्रमुखहरुले पाँच पटक उद्घाटन गरिसकेका छन । त्यै पनि पानी नियमित आउने सम्भावना देखिँदैन । उपत्यकामा खानेपानीको संकट नहोस भनेर २०५७ सालबाट निर्माण सुरु त भयो । तर, आयोजनामा राजनीति गिजोलिएन मात्र जस लिने होडमा ६० अर्ब रुपैयाँ खर्च भइसक्दा पनि आयोजनाको भविष्य नै अन्योलमा परेको छ ।
कहिले प्रकृतिक प्रकोपको चपेटामा त कहीले राजनीतिक हस्तक्षेप र ठेकेदारहरुको लापरवाहीले मेलम्चिको पानी पिउने उपत्यकाबासीको रहर रहरमै सिमित छ ।
२०७७ चैतमा तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार हुँदा पहिलो पटक काठमाडौंमा पानी वितरण गरिएको थियो । तर, २०७८ जेठ मसान्तमा मेलम्चीमा आएको बाढी–पहिरोले आयोजनाको मुख्य सुरुङ बाहेकमा क्षति पुर्याएको थियो । २०७८ चैतमा मर्मत सम्भार गरेर पुनः पानी वितरण गरियो । त्यसपछि वर्षा सुरुभएसँगै पुनः पानी वितरण रोकियो । अहिले फेरि हिउँदमा पानी वितरण सुरु गरिएको छ । तर, यो स्थायी होइन, अब फेरि बर्खा लागेपछि मुहान बन्द गर्नुपर्ने अवस्था आउने देखिन्छ । मन्त्रालयले बाह्रै महिना पानी वितरण हुने भनेपनि तत्काल संभव देखिदैन ।
मुहानबाट पानी ल्याउने चुनौति त छँदैछ । अर्कोतर्फ उत्पयकामा पानी वितरण गर्न राखिएका पाइपमा चुहावट हुँदा सडकनै जलमग्न हुने अवस्था देखिएको छ । मुहानकै समस्या समाधान गरिए पनि उपत्यकाको पाइप लाइनमा देखिएको चुहावटले पनि यो योजनाको सफलतामा अर्को चुनौति थपिएको छ ।




