महिला हार्दा महिलालाई नै फाईदा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

महिला हार्दा महिलालाई नै फाईदा ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल ,माउन्टेन टेलिभिजन एचडि।  

काठमाडौं, २६ मंसिर : के महिला चुनाव हार्दा महिलालाई फाइदा पुग्छ ? सुन्दा आश्चर्य लाग्छ।

प्रतिनिधि सभामा २०७४ को चुनावमा भन्दा २६ सिट बढी जितेर नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बन्दा उक्त दलमा उत्साह भरिएको छ। तर, कुनैपनि महिला प्रत्यक्षतर्फ निर्वाचित नहुँदा समानुपातिकको सूचीमा परेका केही महिलालाई लाभ पुगेको छ भने केही पुरुषहरुले सांसद बन्ने अवसर गुमाएका छन् । उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइराला, उपसभामुख भइसकेका चित्रलेखा यादव र पुष्पा भुसालका अलावा प्रभावशाली नेता महालक्ष्मी उपाध्याय डीनाले चुनाव हारे । जसका कारण काँग्रेसले समानुपातिकतर्फ जितेको ३२ सिटमा २९ महिला अनिवार्य पठाउनुपर्ने भयो । काँग्रेसका हस्ती नेताहरु गोपालमान श्रेष्ठ र फमूल्र्लाह मन्सुर समेत सांसद बन्नबाट रोकिए । यसको फाइदा समानुपातिकको सूचीमा परेका महिलाहरुलाई भयो । सूचीमा राखिएपनि सांसद बन्ने सम्भावना कम भएकाहरुले पनि अवसर पाए । माओवादीबाट १८ प्रत्यक्षतर्फ निर्वाचितमध्ये महिलामा रेखा शर्मा मात्र विजयी भइन् । यसको असर समानुपातिकतर्फको १४ सांसद छान्दा भयो।

माओवादीबाट मात्र २ पुरुषले अवसर पाए । यसको फाइदा महिलाहरुलाई भयो । १२ महिला समानुपातिक सांसद चयन भए । नेकपा एमालेबाट ३४ समानुपातिक सांसद निर्वाचित भएकोमा १९ जना महिला समावेश गरे पुग्ने अवस्था भएपनि २२ जनालाई नाम सिफारिश ग¥यो । प्रत्यक्षमा ४ जना महिला हुनु र राष्ट्रिय सभामा पनि ९ जना महिला हुनुले एमालेबाट बढी संख्यामा पुरुषले सांसद बन्ने अवसर बनेको थियो । तैपनि, उसले पुरुषको संख्या घटायो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षबाट दुई महिला निर्वाचित भएकाले १३ समानुपातिक सिटमा ७ जना पुरुषले अवसर पाए । समानुपातिकमा महिलाभन्दा पुरुष बढी संख्यामा पर्नेमा स्वतन्त्र पार्टी मात्र बनेको छ।

राप्रपाबाट कुनैपनि महिलाले प्रत्यक्षतर्फ सांसद निर्वाचित नहुँदा ७ सिटमा दुई मात्र पुरुष पर्न सके । जसपा र जनमतले जितेको समानुपातिकको ५–५ सिटमा ३–३ महिला पठाए । दुवै दलबाट कुनैपनि महिला प्रत्यक्षतर्फ निर्वाचित भएनन् । संघीय संसद्मा कुनैपनि दलको कुल सांसदको एक तिहाई महिला हुनुपर्ने अनिवार्य व्यवस्थाका कारण प्रत्यक्षतर्फ जति कम महिला निर्वाचित हुन्छन् उति बढी समानुपातिकमा थपिने अवस्था बन्ने गर्छ । यसकारण प्रत्यक्षतर्फ महिलाले नतिजेको र कमले जितेको दलहरुबाट बढीभन्दा बढी महिलाले स्थान पाएका छन् । प्रत्यक्षमा महिला उम्मेदवार हार्दा समानुपातिकको सूचीमा परेका महिलालाई फाइदा पुगेको छ । यसले सांसद बन्ने आशा राखेका पुरुषहरुले झड्का खाए। माउण्टेन टेलिभिजन एचडीका लागि प्रतिमा धरेलको रिपोर्ट।

Leave a Reply