माधव नेपालले प्रधानमन्त्रीमा बाजी मार्नसक्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माधव नेपालले प्रधानमन्त्रीमा बाजी मार्नसक्ने

काठमाडौं, २० मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिका चतुर खेलाडी हुन् । उनी एकपटक मात्र प्रधानमन्त्री बनेका छन् त्यो पनि दुई चुनावी क्षेत्रबाट चुनाव हार्दा । २०६५ को संविधानसभा चुनावमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट चुनाव हार्दा समेत माधव नेपाललाई परिस्थितिले प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो ।

चुनाव हारेको व्यक्ति प्रधानमन्त्री बनेकोबारे सोध्दा उनले आफू बन्दिनँ भन्दा भन्दै तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कर गरेर जिम्मेवारी लिन वाध्य पारेको जवाफ दिने गरेका छन् । लामो समय एमालेको नेतृत्व गरेका नेपालले त्यही पार्टी फुटाएर नेकपा एस बनाए ।
पहिलोपटक निर्वाचनमा भाग लिएको नेकपा एसले प्रत्यक्षतर्फ १० सिट जित्यो । तर, राष्ट्रिय पार्टी बन्ने सम्भावना लगभग समाप्त भएको छ । तैपनि, माधव नेपालमा उत्साह घटेको छैन । उनको राजनीतिक सक्रियता बढेको छ ।

यतिबेला सत्ता गठबन्धन बहुमतमा छैन । बहुमतका लागि गठबन्धनबाहिरका दल र स्वतन्त्र सांसदको साथ चाहिन्छ । अर्कोतर्फ, गठबन्धनभित्र काँग्रेस र माओवादी केन्द्रको सरकारको नेतृत्वको दाबी छ । यो दाबीले गठबन्धनभित्रको तेस्रो शक्ति नेकपा एसलाई चिठ्ठा पर्न सक्छ ।

माधव नेपालकै कारण गठबन्धन बन्ने देखि नेकपा फुट हुँदै नेकपा एमाले समेत फुट्न पुग्यो । जसको फाइदा काँग्रेसले लिन सक्यो । विशेषगरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विकास भएको घटनाको जस माधव नेपालले लिन खोज्दै आएका छन् । राजनीतिमा पछिल्लो समय विकास भएका घटनाक्रमका पछाडि उनी पनि मुख्य खेलाडी हुन् । यसकारण यसपटक १० सिटे नेकपा एसले सरकारको नेतृत्वमा बाजी मारेमा आश्चर्य नमाने हुन्छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सत्ता संघर्षमा गठबन्धन धरापमा पर्न सक्छ । यी दुईबीचको सहमति बन्न नसके तेस्रो विकल्पमा माधव नेपाल हुनसक्छन् । अर्कोतर्फ, गठबन्धन जोगाउँदा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखलगायत महत्वपूर्ण पदहरुको बाँटफाँटको चुनौती उत्तिकै छ । त्यतिबेला सरकारको नेतृत्वको विषय पेचिलो हुनसक्छ । जसमा गठबन्धनका पहिलो र दोस्रो ठूलो घटकले भन्दा तेस्रो शक्तिले बाजी मार्न सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);