राजेन्द्र ढकाल, माउण्टेन टेलिभिजन। नेपाल प्रहरीको भावी आइजीपी बन्ने दौडले अहिले देखि नै गति लिएको छ। यौ दौडमा १७ जना बहालवाला डिआइजीहरु देखिएका छन् ।अहिलेको प्रहरी नियमावली अनुसार यसै वर्षको ११ चैत्रमा आइजीपी धीरजप्रताप सिंहसहित उनका ब्याची अवकाश पाउँदैछन् । त्यसपछि पछिल्लो ब्याचीका डिआइजीमध्येबाट एआइजी बन्नेहरु आइजीपी बन्नेछन् । यसकारण अब एआइजीमा बढुवा हुन डिआइजीहरुबीच तिव्र प्रतिष्पर्धा चलेको हो । प्रहरीमा २० जना बहालवाला डिआइजी छन् । जसमध्ये १७ जना आइजीपी सिंह पछिका ब्याची हुन् । तीनजना भने उनका ब्याची हुन् । हाल रिक्त चार एआइजीमा जो जो बढुवा हुन्छ उसको आइजीपी बन्ने सम्भावना बलियो हुन्छ।
जसमध्ये वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआइजीको दौडमा छन् । आइजीपी सिंहका ब्याची पुरुषोत्तम कँडेल, नलप्रसाद उपाध्याय र मसउद आलम खाँ पनि एआइजी बन्ने दौडमा छन् । तीनै जना बढुवामा परेपनि एकजना पछिल्लो ब्याचीका पर्ने निश्चित छ। आइजीपी सिंह पछिको ब्याचीमध्येबाट कम्तिमा एकजना एआइजीको बढुवामा पर्ने भएकाले प्रहरीको नेतृत्वमो पुग्ने ढोका खोल्न डिआइजीहरुको दौडधूप तिव्र भएको हो।
बढुवाको दौडमा वसन्तबहादुर कुँवर, अशोक सिंह, टेकप्रसाद राई र दिपक थापाको सक्रियता बढी देखिन्छ। डिआइजी बढुवामा पनि उनीहरु अगाडि थिए । कुँवर, सिंह र राई भन्दा पछिल्लो ब्याचीका भएपनि दिपक थापाले यसअघिको बढुवामा छलाङ मारिसकेका छन् । प्रहरीमा ३० वर्षे सेवावधि रहेको छ। प्रहरी नियमावलीमा अवकाशको प्रावधान कायमै रहने हो भने फागुनभित्र एआइजी बढुवामा जो जो पर्छन् उही आइजीपीको प्रतिष्पर्धी हुनेछन् । सुरुमा बढुवा हुनेको सम्भावना बलियो हुनसक्छ। तर, हालका आइजीपी धीरजप्रताप सिंह एआइजी बढुवामा प्रतिष्पर्धीहरु विश्वराज पोखरेल र सहकुल थापाभन्दा पछि बढुवा भएपनि नेतृत्वमा पुग्न सके । प्रहरीमा राजनीतिक हस्तक्षेपले वरिष्ठता र कार्यक्षमता मिचिने गरेको गुनासाहरु आउने गरेका छन् । नेपाल प्रहरीका पूर्व डिआइजी केशव उपाध्याय पनि राजनीतिक हस्तक्षेप हुने गरेको बताउँछन् ।
बाइटप्रहरी नियमावली २०७१ को नियम ४१ मा आइजीपी नियुक्तिका आधारमा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन गर्न सक्ने सामथ्र्यलाई आधार मानिएको छ। यसकारण पनि प्रहरीमा वरियतामा माथि हुँदैमा आइजीपी बन्ने निश्चित हुँदैन भन्ने विगतका घटनाले देखाएको छ। विगतमा आइजीपी बनेका प्रकाश अर्याल र धीरजप्रताप सिंहले वरियतामा माथि रहेकालाई पछि पारेर बाजी मारेका थिए ।